एमसिसी परियोजना नेपालसहित चार देशमा यथावत रहने, इलन मस्क नेतृत्वको निर्णयले अन्यत्र रोक
२०८२ बैशाख १२, शुक्रबार १२:४७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलन मस्कको नेतृत्वमा गठित ‘सरकारी दक्षता विभाग (DOGE)’ ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) अन्तर्गतका धेरैजसो परियोजना बन्द गर्ने निर्णय गरे पनि नेपाल, सेनेगल, मङ्गोलिया र आइभोरी कोस्टमा भने काम यथावत रहने भएको छ।
सरकारी दक्षता विभाग ले संघीय खर्च कटौतीको सन्दर्भमा एमसिसि बन्द गर्ने तयारी गरेपछि संस्थाका करिब ३०० कर्मचारीलाई इमेल पठाई विभिन्न विकल्प (स्वैच्छिक अवकाश, तलबसहितको राजीनामा वा प्रशासनिक बिदा) दिइएको थियो। तर रोयटर्सले उद्धृत गरेको एमसिसि का एक कर्मचारीका अनुसार ती चार देशमा सम्झौता भइसकेका र कार्यान्वयनमा रहेका परियोजनाहरू रोकिँदैनन्।
नेपालमा विद्युत प्रसारण लाइन र सडक स्तरोन्नति कार्यसमेत समेटिएको एमसिसि परियोजना फेब्रुअरीदेखि नै कार्यान्वयनमा आएको हो। यद्यपि अमेरिकी अधिकारीहरूले ९० दिनका लागि खर्च अस्थायी रूपमा रोकिएको जानकारी दिएका छन्।
सरकारी स्तरबाट आधिकारिक घोषणा नभए पनि, हाल नेपाल लगायत ती चार मुलुकमा एमसिसि अन्तर्गतका विकास कार्य प्रभावित नहुने संकेत देखिएको छ। इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग को निर्णयले अन्य देशका नयाँ वा प्रारम्भिक चरणमा रहेका परियोजनाहरूमा भने गम्भीर असर पार्ने आँकलन गरिएको छ।




