अमेरिका र चीनबीच ९० दिनका लागि ११५ प्रतिशत कर कटौतीको समझदारी
२०८२ बैशाख २९, सोमबार १५:२५
१२ मे २०२५, जिनेभा — अमेरिका र चीनले आपसी व्यापार तनाव कम गर्न ९० दिनका लागि आयात-निर्यातमा लाग्ने करहरूमा उल्लेखनीय कटौती गर्ने समझदारीमा पुगेका छन्। जिनेभामा सम्पन्न उच्चस्तरीय वार्तापछि दुबै देशले यो निर्णय गरेका हुन्।
अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले घोषणा गरेअनुसार, अमेरिका चीनबाट आयात हुने वस्तुहरूमा लाग्ने कर १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशतमा ल्याउनेछ, भने चीनले अमेरिकाबाट आयात हुने वस्तुहरूमा लाग्ने कर १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्नेछ ।
यो समझदारीले दुई देशबीचको व्यापार युद्धमा अस्थायी विराम ल्याएको छ, जसले विगत केही महिनादेखि विश्वव्यापी बजारमा अस्थिरता सिर्जना गरेको थियो। समझदारीपछि अमेरिकी, एशियाली र युरोपेली शेयर बजारहरूमा सकारात्मक प्रभाव परेको छ, र अमेरिकी डलरको मूल्यमा पनि वृद्ध देखिएको छ ।
वार्तामा सहभागी अमेरिकी प्रतिनिधि स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले आपसी सम्मान र सहयोगको आधारमा यो निर्णय गरिएको बताए। दुबै देशले भविष्यमा थप संवाद र सहयोगका लागि स्थायी संयन्त्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस समझदारीले व्यापारिक तनाव कम गर्ने मात्र नभई, फेन्टानिल तस्करीजस्ता अन्य मुद्दाहरूमा पनि सहकार्यको ढोका खोल्ने अपेक्षा गरिएको छ। यद्यपि, यो अस्थायी कदम भएकाले दीर्घकालीन समाधानका लागि थप वार्ता आवश्यक पर्ने विश्लेषकहरू बताउँछन् ।




