सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट पोस्ट गर्दै अचानक सम्पर्कविहिन भएका डा. केशव श्रेष्ठ अन्ततः सकुशल फेला परेका छन्।

प्रहरी स्रोतका अनुसार, डा. श्रेष्ठलाई काठमाडौंको बालाजुस्थित एक घर वा होटलबाट आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक बयानका क्रममा उनले आत्महत्या गर्ने तयारीमा रहेको र त्यसका लागि डोरी खोजिरहेको जानकारी प्रहरीलाई दिएका छन्।

हाल उनलाई थप अनुसन्धानका लागि भद्रकालीस्थित प्रहरी परिसरमा लगिएको छ। मानसिक अवस्था स्थिर नभएको आशंका गरिएकोले चिकित्सकीय परामर्श पनि लिने तयारी भइरहेको छ।

फेसबुकमा मार्मिक सन्देश पोस्ट गरेपछि उनका परिवार, साथीभाइ तथा शुभेच्छुकहरू चिन्तित बनेका थिए। खोजी अभियानमा खटिएको प्रहरी टोलीको सक्रियताले श्रेष्ठलाई समयमै फेला पार्न सहयोग पुग्यो।

प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक अनुसन्धान अघि बढाएको छ।