समुद्र सतहदेखि सगरमाथासम्म साइकल यात्रा

पश्चिम बंगालका २९ वर्षीय ज्योतिष्को विश्वासले एउटा यस्तो इतिहास रचे — जुन अनुशासन, अठोट र आत्मविश्वासको प्रेरणादायी कथा हो । पेशाले पर्वतारोहण प्रशिक्षक रहेका ज्योतिष्कोले समुद्री सतहबाट सगरमाथा आधार शिविरसम्म साइकल चढेर १३४६ किलोमिटर लामो साहसिक यात्रा पूरा गरे ।
यो यात्रा उनले २०२५ फेब्रुअरी ९ मा पश्चिम बंगालको डिघा समुद्र किनारबाट सुरु गरे । सुरुमा कुनै ठूला घोषणा वा प्रचारप्रसार थिएन । शान्तिपूर्वक सुरु गरिएको यो यात्रा समयसँगै एउटा महत्त्वपूर्ण सन्देश बोक्ने अभियान बन्यो ।
१९ फेब्रुअरी २०२५ मा नेपाल प्रवेश गरेका उनी पूर्वी नेपालको भिथामोर नाकाबाट काठमाण्डौ हुँदै सोलुखुम्बु तर्फ लागे । करिब २९ दिनको कठिन यात्रापछि उनले मार्च ८–९ तिर सगरमाथा आधार शिविरमा पाइला टेके ।
“यो यात्रा कुनै रेकर्ड बनाउन होइन, आत्मपरीक्षणका लागि थियो,” विश्वास भन्छन् । उनका अनुसार, शरीर र मनको सीमा कहाँसम्म धकेल्न सकिन्छ भन्ने बुझ्न उनी साइकलमा चढेर सगरमाथा पुग्न चाहन्थे । यो यात्रा उनले “Sea to Summit” शीर्षकमा गरेका थिए — जुन केवल भौगोलिक यात्रा मात्र होइन, व्यक्तिगत सीमाभन्दा माथि उठ्न खोजेको अभ्यास पनि थियो ।
उनको यात्रा कठिन थियो — उच्च चढाइ, बदलिंदो मौसम, पांग्राको भारी, र अनगिन्ती चुनौतीहरू । तर त्योभन्दा पनि ठूलो कुरा थियो उनको संकल्प र अनुशासन । उनले यात्रा मार्फत सन्देश दिए — “सपना ठूला देख, र त्यसलाई पूरा गर्न आँट गर”।
जोतिष्को विश्वासको यो यात्रा नेपाल र भारत दुवैका युवाहरूमाझ एउटा उदाहरण बनेको छ — कि जुनसुकै ठाउँबाट भए पनि इच्छाशक्ति बलियो छ भने सगरमाथा जस्तै सपना पनि पुग्न सकिन्छ ।