काठमाडौं, असार २० – नेपालले मलेसियामा सम्पन्न एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। मलेसियाको यूकेएम ओभलमा आज सम्पन्न फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो।

सिङ्गापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो। नेपालको जीतमा जोय थापा र अभय यादव अविजित रहँदै क्रमशः २४ र १० रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै, शिवान्स बजगाईले २०, शुभम खनालले १८ र प्रसिद्ध जैशीले १७ रन बनाए।

नेपालको इनिङ्सको सुरुवात भने राम्रो भएन। पहिलो विकेट १३ रनमै गुमाएको नेपालले ४० रनमा लगातार दुई विकेट र ५८ रनमा थप दुई विकेट गुमाउँदा दबाबमा परेको थियो। तर छैटौं विकेटका लागि जोय थापा र शुभम खनालले ३३ रनको साझेदारी गर्दै पारी सम्हाले।

सिङ्गापुरका लागि कपिस भेन्कटरमनले ४ विकेट लिँदा युवान पाण्डेले २ विकेट हात पारे। भेदान्स गुप्ता र आकाश तेजाले एक–एक विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ११३ रनमा सबै विकेट गुमाएको थियो। नेपाली बलिङ र फिल्डिङ प्रभावशाली देखिएको थियो।

यस जितसँगै नेपालले एसिया स्तरको उमेर समूहको प्रतियोगितामा पुनः आफ्नो दबदबा कायम गरेको छ।