किभ (एजेन्सी) श्रावण ४ आईतवार – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको लामो युद्धलाई अन्त्य गर्न छिट्टै युद्धविरामको पहल गर्ने घोषणा गरेका छन्। 

शनिबार युक्रेनका नागरिकलाई सम्बोधन गर्दै उनले अर्को साताभित्र औपचारिक वार्ता प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिए।

राष्ट्रपति जेलेन्स्कीका अनुसार, युक्रेनका रक्षा काउन्सिलका प्रमुख रुस्तम उमेरोभले रुसका अधिकारीहरूसँग युद्धविरामका लागि प्रस्ताव राखिसकेका छन्। “हाम्रो लक्ष्य छिट्टै शान्ति स्थापना गर्नु हो। अब युद्ध अन्त्यका लागि ठोस कदम चाल्ने बेला आएको छ,” जेलेन्स्कीले सम्बोधनमा भने।

युद्धविराम वार्तामा अन्तर्राष्ट्रिय समुदायको समर्थन महत्वपूर्ण हुने उनको भनाइ छ। उनले शान्ति प्रक्रियालाई सफल बनाउन युरोपेली देशहरू र अन्य सहयोगी राष्ट्रहरूसँग सहकार्य गर्ने संकेत पनि दिए।

सन् २०२२ बाट सुरु भएको रुस–युक्रेन युद्धमा लाखौं मानिस विस्थापित भएका छन् भने हजारौंले ज्यान गुमाएका छन्। अब जेलेन्स्कीको यो पहलले द्वन्द्व अन्त्यतर्फ नयाँ आशा जगाएको विश्लेषकहरूको भनाइ छ।