सीको महत्वाकांक्षा : चीनको उदय वा नयाँ ‘बाढी’को संकेत?
२०८२ श्रावण ८, बिहीबार ०९:४२
श्रावण ८ विहिवार , प्राचीन चिनियाँ इतिहासको ‘तीन अधिपति र पाँच सम्राट’ कालखण्डमा आएको महाबाढी केवल प्राकृतिक विपत्ति थिएन, त्यो राज्य–नेतृत्वको परिक्षण पनि थियो।
सम्राट याओले विश्वास नगरेको गुनलाई बाढी नियन्त्रणको जिम्मा दिनु त्यतिबेला साहसी र जोखिमपूर्ण निर्णय थियो, जसले सभ्यता जोगायो। तर, आज चीनको राजनीतिक इतिहासमा अर्को ‘बाढी’को रुप देखा परेको छ—तर यो प्राकृतिक होइन, राजनीतिक र आर्थिक छ, जसको केन्द्रमा छन् ‘लालसम्राट’ भनिने सी जिनपिङ।
सी जिनपिङको नेतृत्वमा चीनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI)’देखि ‘मेड इन चाइना २०२५’सम्मका कार्यक्रममार्फत विश्वभर आर्थिक प्रभाव फैलाउने अभियान थालेको छ।
यी परियोजनाहरूले चीनलाई ‘विश्वको कारखाना’ मात्र नभई ‘कूटनीतिक ऋणदाता’को भूमिकामा पुर्याएको छ। तर, यिनै योजनाहरूले चीनलाई आर्थिक बाढीमा तान्ने सम्भावना पनि बढाएका छन्।
विआई मार्फत चीनले पाकिस्तानदेखि अफ्रिकासम्म दर्जनौँ मुलुकमा अरबौँ डलर लगानी गर्यो, तर ती मुलुक ऋण तिर्न असमर्थ हुँदा चीनकै लगानी डुब्ने खतरा देखिएको छ।
सीले २०१८ मा राष्ट्रपति पदको कार्यकालको सीमा हटाएर ‘आजीवन’ नेतृत्वको बाटो खोले। सत्ताको यस्तो केन्द्रीकरणले ‘स्थायित्व’ भन्दा बढी ‘असन्तोष’ बढाइरहेको छ।
चीनको युवापुस्तामा बढ्दो बेरोजगारी, अर्थतन्त्रको सुस्त वृद्धि र आन्तरिक असन्तुष्टि सीका लागि नयाँ चुनौती बनेका छन्।
राजनीतिक विश्लेषकहरूको भनाइमा, सीको नेतृत्वले ‘गुन’ खोज्नुभन्दा, आफ्ना आलोचकलाई दबाउने र ‘विश्वलाई चीनको स्वरूपमा ढाल्ने’ खेलमा बढी समय खर्चिरहेको छ। यस्तो नीतिले अन्ततः चीनमै असन्तोषको बाढी ल्याउने चेतावनी दिइएको छ।
अमेरिका र उसका गठबन्धन मुलुकहरू चीनको प्रभाव विस्तारलाई रोक्न खुला रूपमा नीतिगत, आर्थिक र सैनिक कदम चालेका छन्। BRI अन्तर्गतका धेरै परियोजना अवरुद्ध हुँदै गएका छन्, र चीनको कूटनीतिक छवि कमजोर बन्दै गएको छ। यदि यी परियोजनाहरू असफल भए, चीनको आर्थिक संकट ९०को दशकको जापानको जस्तै गहिरो बन्ने जोखिम छ।
इतिहासमा याओले गुनलाई जिम्मा दिँदा सभ्यता बाँच्यो। आजको चीनमा, सी जिनपिङ आफैं ‘याओ’ पनि छन् र ‘गुन’ पनि। तर, प्रश्न छ—के सीको महत्वाकांक्षी योजना चीनलाई सुरक्षित भविष्यतर्फ लैजान्छ, वा अर्को ‘बाढी’ सिर्जना गरेर चीनलाई राजनीतिक–आर्थिक संकटमा धकेल्छ?
अन्ततः, चीनको भविष्य सीले आफैंलाई कसरी परिभाषित गर्छन् भन्नेमा निर्भर छ—जनताको भरोसा जित्ने ‘समाधानकर्ता’का रूपमा, कि सत्ताको लोभमा विश्व र आफ्नै मुलुकलाई जोखिममा पार्ने ‘नयाँ याओ’का रूपमा।




