स्कटल्याण्ड – महिनौँदेखि चर्किँदै गएको व्यापारिक तनाव अन्त्य गर्दै संयुक्त राज्य अमेरिका र युरोपेली युनियन (ईयू)बीच ऐतिहासिक व्यापार सम्झौता भएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनबीच स्कटल्याण्डको टर्नबेरी गोल्फ रिसोर्टमा सम्पन्न निर्णायक वार्तापछि दुवै पक्ष १५ प्रतिशत भन्सार दरमा सहमत भएका हुन्।

सम्झौता अनुसार अब अमेरिकी बजारमा प्रवेश गर्ने सबै युरोपेली सामानमा १५ प्रतिशत आयात कर लाग्नेछ, जुन ट्रम्पले पहिले प्रस्ताव गरेको ३० प्रतिशत करको आधा हो।

 तर, विमान तथा पार्टपुर्जा, केही कृषि तथा रसायनजन्य उत्पादनहरूलाई भन्सारमुक्त राखिएको छ।

युरोपेली युनियनले पनि केही अमेरिकी वस्तुहरूमा शून्य प्रतिशत भन्सार छुट दिने सहमति गरेको छ। साथै, ईयूले अबको तीन वर्षमा अमेरिकामा झन्डै ६०० अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ। बीबीसीका अनुसार, यो लगानीमध्ये सात सय ५० अर्ब डलरसम्म ऊर्जा र अमेरिकी सैन्य सामग्री खरिदमा खर्च हुनेछ, जसले युरोपको रुसी ऊर्जामा निर्भरता घटाउने अपेक्षा गरिएको छ।

विश्लेषकहरूले यस सम्झौताले विश्व व्यापारको करिब एक तिहाइ हिस्सा ओगट्ने दुई प्रमुख साझेदारबीच नयाँ आर्थिक सहकार्यको ढोका खोल्ने मूल्यांकन गरेका छन्।