युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई साथ दिन वाशिङ्टन पुग्ने युरोपेली नेताहरू
२०८२ भाद्र २, सोमबार ०७:३९
वाशिङ्टन, भाद्र २– सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटवार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मात्र नभई युरोपका ठूला–ठूला नेताहरू समेत सहभागी हुने भएका छन्।
बेलायतका प्रधानमन्त्री केइर स्टारमर, फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोन, जर्मनीका चान्सलर फ्रिड्रिख मर्ज, इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी, फिनल्याण्डका राष्ट्रपति अलेक्जान्डर स्टब्बसँगै नाटो महासचिव मार्क रुट्टे र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि उक्त बैठकमा सहभागी हुने जनाइएको छ।
ट्रम्पले हालै अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरी युक्रेनले केही भू–भाग छाड्नुपर्ने सन्देश दिएका थिए। सो एजेन्डा प्रति असन्तुष्टि जनाउँदै युरोपेली नेताहरूले जेलेन्स्कीलाई पूर्ण समर्थन गर्न वाशिङ्टन जाने निर्णय गरेका हुन्।
बैठकमा युक्रेनको सार्वभौमिकता, सुरक्षा ग्यारेन्टी, दीर्घकालीन सैन्य तथा वित्तीय सहयोग र युरोपेली–अमेरिकी एकताको सन्देशलाई बलियो बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
फ्रान्सका राष्ट्रपति माक्रोनले स्पष्ट पार्दै भनेका छन्, “अन्तर्राष्ट्रिय सीमाहरू बल प्रयोग गरेर परिवर्तन हुन सक्दैनन्।”
विश्लेषकहरूले यस संयुक्त भ्रमणलाई ट्रम्प प्रशासनलाई बलियो कूटनीतिक सन्देश पठाउने र युक्रेनप्रति युरोपेली दृढ प्रतिवद्धताको प्रदर्शनको रुपमा लिएका छन्।




