जापानमा प्रधानमन्त्री मोदीलाई राजस्थानी शैलीको विशेष स्वागत
२०८२ भाद्र १३, शुक्रबार १०:०७
टोकियो, शुक्रबार भाद्र १३ – जापान भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुक्रबार अनौठो तर भावुक बनाउने खालको परम्परागत स्वागत गरिएको छ।
टोकियोमा केही जापानी महिलाहरूले रंगीन राजस्थानी पोशाकमा सिँगारी, हात जोडेर “पधारो म्हारे देश” भन्दै मोदीलाई स्वागत गरे। यो अभिवादनको अर्थ हुन्छ – “मेरो देशमा स्वागत छ।”
कार्यक्रममा उपस्थित महिलामध्ये एकजनाले लोकप्रिय लोकगीत “वारी जाऊँ रे” गाइन्, जसले वातावरण झनै भावुक बनायो। गीत सुनेपछि प्रधानमन्त्री मोदीले मुस्कुराउँदै ताली बजाएर प्रशंसा गर्नुभयो।
त्यसपछि अर्को समूहले मोहिनीयट्टम, कथक, भरतनाट्यम र ओडिसी जस्ता शास्त्रीय नृत्य प्रस्तुत गर्यो। नृत्यकलाले भारतीय संस्कृति र परम्पराप्रति जापानी समुदायको आकर्षण प्रष्ट रूपमा झल्किएको थियो।
प्रधानमन्त्री मोदीले कलाकारहरूसँग केही समय संवाद गर्दै उनीहरूको समर्पण र भारतप्रतिको माया देखेर प्रसन्नता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यो केवल स्वागत मात्र होइन, भारत–जापान सांस्कृतिक मित्रताको सुन्दर उदाहरण हो।”
यस अनौठो स्वागतले जापान भ्रमणलाई अझै विशेष बनाएको र दुई मुलुकबीचको सांस्कृतिक सम्बन्धलाई गहिरो बनाएको अवलोकनकर्ताहरूको टिप्पणी छ।




