विराटनगर भाद्र १३, मोरङको बुढीगंगा गाउँपालिका–२, टंकिसिनवारीस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्त्री तथा प्रसूति सेवाका लागि समर्पित २ सय शैय्याको अत्याधुनिक भवन मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नयाँ भवनको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले गरेका हुन् ।

यससँगै अस्पतालले ५ वटा अत्याधुनिक शल्यक्रिया कक्ष (अप्रेशन थिएटर), ३० बेड क्षमताको डिलक्स क्याबिन, छुट्टै गाइनो–आइसीयू, र २ सय शैय्याको प्रसूति वार्ड जस्ता सुविधाहरू थप गरेको छ । अस्पताल प्रशासनका अनुसार यो विस्तारसँगै स्त्री तथा प्रसूति सेवामा पहुँच अझ सहज र गुणस्तरीय हुने अपेक्षा गरिएको छ ।

अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्र बहादुर कार्कीले नयाँ भवन र अत्याधुनिक उपकरणसहितको सेवा विस्तारले महिला बिरामीहरूलाई सुरक्षित र प्रभावकारी उपचार दिने विश्वास व्यक्त गरे । उनका अनुसार अस्पतालमा हालसम्म १९ वटा सञ्चालनमा रहेका अप्रेशन थिएटरमा थप ५ वटा गाइनो–ओटी थपिँदा कुल संख्या २४ पुगेको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि प्रा.डा. वाग्लेले विराट मेडिकल कलेजले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा उदाहरणीय योगदान दिएको उल्लेख गर्दै यसले चिकित्सा शिक्षा र सेवा दुवैमा गुणस्तर कायम राखेको बताए ।

विराट मेडिकल कलेज शिक्षण अस्पतालले सन् २०१४ मा स्थापना भएदेखि छोटो समयमा नै कोशी प्रदेशकै अग्रणी स्वास्थ्य संस्था बनेको छ । यहाँ १०० बेड क्षमताको इमरजेन्सी विभागसहित चौबीसै घण्टा सेवा उपलब्ध छ भने २० भन्दा बढी विशेषज्ञ स्त्री रोग तथा प्रसूति चिकित्सकहरूको टोली निरन्तर खटिने गरेको छ ।

कार्यक्रमको अवसरमा अस्पतालमा अध्ययनरत विद्यार्थीहरूसँग स्वास्थ्य क्षेत्रमा देखिएका अवसर र चुनौतीबारे अभिमुखीकरण सत्र समेत गरिएको थियो । सोही अवसरमा अध्यक्ष डा. कार्कीले सरकारले लामो समयपछि एमबीबीएस कोटा बढाउने निर्णयलाई ‘१० वर्षपछिको आइस ब्रेक’ भन्दै निजी क्षेत्रको लगानीलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

त्यसैगरी, कलेजका कानुनी सल्लाहकार अधिवक्ता काशीनाथ चुडालले पनि नयाँ भवन सञ्चालनले अस्पताललाई जनतासम्म छिटो र भरपर्दो सेवा पु¥याउन अझ ठूलो हौसला मिलेको बताए ।

 नयाँ भवन सञ्चालनमा आएसँगै विराट मेडिकल कलेज शिक्षण अस्पतालले पूर्वी नेपालमै स्त्री तथा प्रसूति सेवामा नयाँ मापदण्ड कायम गर्ने अपेक्षा गरिएको छ ।