थियान्चिनमा मोदीपुटिनको औरस कारमा सवार
२०८२ भाद्र १६, सोमबार १२:१७
थियान्चिन, चीन भाद्र १६, शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन एउटै गाडीमा चढी द्विपक्षीय वार्ता स्थलतर्फ गएका छन् ।
चीनले पुटिनलाई उपहार स्वरूप दिएको लक्जरी ‘औरस’ कारमा दुबै नेता बसेको दृश्य भाइरल बनेको छ, जसलाई दुवै नेताबीचको व्यक्तिगत आत्मीय सम्बन्धको संकेतका रूपमा हेरिएको छ ।
दुवै नेता शिखर सम्मेलन सम्पन्न भएपछि चिनकाे पाँचतारे ‘रिट्ज कार्लटन’ होटलतर्फ सिधै प्रस्थान गरेका थिए । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा फोटो पोस्ट गर्दै लेखेका छन्, “एससीओ शिखर सम्मेलनपछि राष्ट्रपति पुटिनसँगै द्विपक्षीय वार्ताको स्थलसम्म यात्रा गर्यौं, उहाँसँगको संवाद सधैं गहन र उपयोगी हुन्छ।”
यसअघि शिखर सम्मेलनमा सम्बोधन गर्दै मोदीले आतंकवादविरुद्ध साझा र दृढ एकतामा उभिन सबै सदस्य राष्ट्रलाई आह्वान गरेका थिए । उनले हालैको पहलगाम आक्रमणलाई स्मरण गर्दै “आतंकवादको कुरूप रूप फेरि प्रकट भएको” भन्दै दोहोरो मापदण्ड अस्वीकार्य हुने चेतावनी दिएका थिए ।
यसैबीच, एससीओ सदस्य राष्ट्रहरूले अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणको कडा निन्दा गरेका छन् ।
संयुक्त घोषणापत्रमार्फत उनीहरूले त्यसका योजनाकार, संरक्षक र आक्रमणकारीलाई कानूनी कठघरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । “आतंकवाद, पृथकतावाद र चरमपन्थाविरुद्धको लडाइँमा दोहोरो मापदण्ड अस्वीकार्य हुन्छ,” घोषणापत्रमा उल्लेख छ ।




