चिन भाद्र २२, सूचना प्रविधि क्षेत्रमा चीनले फेरि एकपटक विश्वलाई चकित पारेको छ। चिनियाँ वैज्ञानिकहरूको टोलीले विश्वकै पहिलो ६जी (6G) चिप सार्वजनिक गर्दै उच्चगतिको वायरलेस सञ्चार प्रविधिको नयाँ युग सुरु गरेको घोषणा गरेको हो।

यो चिप विकासका क्रममा उनीहरूले पातलो लिथियम नियोबेट फोटोनिक पदार्थको झिल्ली र अत्याधुनिक संरचनाको प्रयोग गरेका छन्। यस प्रविधाले दुर्गम तथा पहुँचविहीन क्षेत्रमा समेत अल्ट्रा–हाई स्पिड इन्टरनेट सेवा उपलब्ध गराउने दाबी गरिएको छ।

६जी चिपको प्राविधिक विशेषता अनुसार, यसले अहिलेको ५जीभन्दा हजारौँ गुणा छिटो डाटा ट्रान्सफर दर उपलब्ध गराउनेछ। वैज्ञानिकहरूका अनुसार, भविष्यमा यसले स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (IoT), स्वचालित गाडी, स्वास्थ्य तथा अन्तरिक्ष प्रविधि जस्ता क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउनेछ।

प्रविधि विश्लेषकहरूले यो उपलब्धिलाई चीनको विश्वव्यापी प्रविधि प्रतिस्पर्धामा अग्रता कायम गर्ने अर्को कदमका रूपमा लिएका छन्। हालसम्म ५जी प्रविधामा नै चीनलाई विश्व नेतृत्वमा मानिँदै आएको छ भने अब ६जी चिप सार्वजनिक गरेर चीनले आफ्नो प्रभुत्वलाई अझ बलियो बनाएको हो

चिनियाँ सञ्चार अनुसन्धानकर्ताले भनेका छन्, “यो केवल प्राविधिक प्रगति मात्र होइन, विश्वभरको डिजिटल पहुँच र संचार संरचना रूपान्तरण गर्ने आधार हो।” उनीहरूका अनुसार, आगामी दशकमै ६जी आधारित सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।

यससँगै विश्वव्यापी इन्टरनेट प्रविधिको भविष्य चीनकै हातमा केन्द्रित हुँदै गएको संकेत प्रष्ट भएको छ।