विराटनगर–रानी नाकामा सुरक्षा सतर्कता कडाइ
२०८२ भाद्र २७, शुक्रबार १८:३९
विराटनगर, भाद्र २७ – पछिल्ला सुरक्षासम्बन्धी घटनाक्रमलाई ध्यानमा राख्दै विराटनगर–रानी नाकामा आवतजावतमा कडाइ गरिएको छ। नेपालतर्फ नेपाल प्रहरी र भारततर्फ भारतीय प्रहरी संयुक्त रूपमा खटिएर आवतजावत गर्ने सर्वसाधारणलाई सूक्ष्म चेकजाँच गरिरहेका छन्।
नाकामा ठूलो गेटमार्फत आवागमन नियन्त्रित गरिएको छ। भारततर्फ किनमेल गर्न जाने वा फर्कने व्यक्तिहरूले अनिवार्य रूपमा नागरिकता वा परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ। तर, साइकल, मोटरसाइकल लगायतका सवारी साधनलाई भने नाकाबाट प्रवेश–निर्गमनमा रोक लगाइएको छ।
सुरक्षाकर्मीहरूले जेलबाट फरार कैदीहरू सीमा हुँदै भारततर्फ पस्न नदिन विशेष निगरानी बढाइएको बताएका छन्। यसैबीच, भारतको जोगबनी बजारमा सामान्यतया हुने भीडभाड अहिले निकै कम देखिन्छ। आन्दोलनका कारण केही समय रोकिएको आयात–निर्यात भने फेरि सुरु भइसकेको छ।




