उत्तप्रदेशमा ‘जेनजी’ आन्दोलनको प्रभावको चर्चा : योगीको चेतावनी
२०८२ भाद्र २८, शनिबार १९:३९
लखनऊ भाद्र २८ – नेपालमा भड्किएको ‘जेनजी’ आन्दोलनको असर भारतको उत्तरप्रदेशसम्म पुगेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले शनिबार आयोजित सार्वजनिक कार्यक्रममा नेपालको घटनालाई उदाहरण दिँदै साना समस्या बेवास्ता गर्नु ठूला संकट निम्त्याउने बताएका छन्।
समाचार संस्था पीटीआईका अनुसार, उनले जनप्रतिनिधिहरूलाई धैर्यपूर्वक जनगुनासो सुन्न र समयमै समाधान गर्न आग्रह गरे। योगीले भने, “साना कुरा ध्यान नदिँदा ठूलो समस्या बन्ने गर्छ, जुन कुरा छिमेकी मुलुकमा देखिएको अवस्थाले स्पष्ट पार्छ।”
उनका अनुसार संवेदनशीलता र सक्रियताका साथ नागरिकका माग सम्बोधन गर्न सकिए मात्र सामाजिक असन्तोष रोक्न सकिन्छ। उनले सरकार र जनप्रतिनिधि दुवैलाई जनतालाई बेवास्ता नगर्न चेतावनी दिएका छन्।




