कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि स्थगित
२०८२ आश्विन १, बुधबार १०:१३
काठमाडौं असाेज १ , वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी “कार्यविधि, २०८०” तत्काल कार्यान्वयन नगर्ने भएको छ। विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्रअनुसार कार्यविधि स्थगित गरिएको जानकारी दिएको हो।
यससँगै, बिटुबि (B2B) मार्फत ई–७ भिसा लिएर कोरिया जान सक्ने प्रणाली तत्काल अघि नबढ्ने भएको छ। सो कार्यविधिमा ई–७ भिसा प्रणालीका लागि तोकिएका मापदण्ड पूरा गर्ने वैदेशिक रोजगार व्यवसायीले सीपयुक्त नेपाली श्रमिक पठाउन सक्ने व्यवस्था गरिएको थियो।
कोरियाले विशेष सीप भएका दक्ष कामदारलाई ई–७ भिसा प्रदान गर्दै आएको छ। यसमार्फत जाने कामदारलाई स्थानीय कोरियाली कामदार सरह, करिब ३,००० अमेरिकी डलर (झण्डै ४ लाख नेपाली रुपैयाँ) मासिक तलब दिने प्रस्ताव नेपालले अघि सारेको थियो।
तर, यसअघि पनि राजनीतिक अस्थिरता र नीतिगत ढिलासुस्तीका कारण नेपालले समयमै निर्णय लिन नसक्दा अवसर गुमाइसकेको थियो। यसपटक पनि मन्त्रालयको निर्देशनपछि श्रमिक पठाउने प्रक्रिया अनिश्चित बनेको छ।
नेपालले प्रस्ताव राखेको आकर्षक तलबसहित सीपयुक्त नेपाली श्रमिक पठाउने योजना हाल स्थगित भएपछि, हजारौं सीपयुक्त युवाको आकांक्षा फेरि अनिश्चित बनेको छ।




