गाजामा हमासले सार्वजनिक गरेको ‘बिदाई तस्वीर’मा नेपाली विपिन जोशी पनि!
२०८२ आश्विन ४, शनिबार १९:५७
काठमाडौं असाेज ४, हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले गाजामा रहेका ४८ इजरायली बन्दीहरूको सामूहिक ‘बिदाई तस्वीर’ सार्वजनिक गरेको दाबी गरेको छ। उक्त तस्वीरमा जीवित र मृत दुवै अवस्थाका बन्दीहरूको अनुहार देखाइएको छ र सबैलाई “रोन अराड” नामसहित प्रस्तुत गरिएको छ।
यसैबीच, सार्वजनिक गरिएको तस्वीरमा नेपालका विद्यार्थी विपिन जोशीको अनुहार पनि देखिएको हुन सक्ने समाचार विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यममा उल्लेख गरिएको छ। तर, यसको विश्वसनीय पुष्टि भने अहिलेसम्म भएको छैन।
हमासले तस्वीर सार्वजनिक गर्ने कदमलाई इजरायली परिवार र सरकारमाथि दबाब सिर्जना गर्ने रणनीति भनेर टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।
त्यसैगरी, अल जजिराका अनुसार, इजरायली सेनाले गाजाको ठूलो सहरलाई घेर्ने र नियन्त्रणमा लिने अभियान तीव्र बनाइरहेको बेला यो तस्वीर बाहिर आएको हो।
विपिन जोशीलाई २०२३ को अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गर्दा अपहरण गरेको हो। उनलाई उद्धार गर्ने वा स्थितिबारे प्रष्ट जानकारी दिने विषयमा अहिलेसम्म इजरायल वा हमास दुवै पक्षबाट प्रष्ट खुलासा गरिएको छैन।




