काठमाडौं असाेज ६, काठमाडौं विश्वविद्यालयका प्राध्यापक एवम् आईटी विज्ञ डा. सुदन झा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा परेका छन् ।

अमेरिकाको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयले हालै प्रकाशित गरेको प्रतिवेदनमा डा. झा सहित विभिन्न देशका उत्कृष्ट वैज्ञानिकहरूको नाम समेटिएको हो । उक्त सूची अनुसन्धान योगदान, प्रकाशन, उद्धरण र शैक्षिक प्रभावका आधारमा तयार गरिएको हो ।

डा. झा लामो समयदेखि सूचना प्रविधि क्षेत्रमा अध्यापन र अनुसन्धान गर्दै आएका छन् । उनको योगदान कृत्रिम बुद्धिमत्ता, बिग डाटा, कम्प्युटर नेटवर्किङलगायत क्षेत्रमा उल्लेखनीय मानिन्छ ।

नेपालमै सीमित स्रोत र अवसरका बीच विश्वस्तरीय सूचीमा पर्नु डा. झा मात्र नभई सम्पूर्ण नेपाली शैक्षिक समुदायका लागि गर्वको विषय बनेको छ ।