भूटान, असोज १७ – हिजो विजयादशमीकाे दिनमा  भूटानका राजामहाराज र महारानीले यस वर्षको महान् पर्व बडादसैं असोज १६ गते (अक्टोबर २) देवी पञ्चायन मन्दिरमा हजारौँ श्रद्धालु नागरिकसँगै मनाउनु भयो। भव्य परम्परा र गहिरो श्रद्धाले सजिएको यस दिन राजद्वयले सर्वसाधारणलाई आफ्नै हातबाट टीका र आशीर्वाद प्रदान गर्दै देश र जनताको सुख–समृद्धि, शान्ति र प्रगतिको मंगलकामना गर्नुभयो।

भूटानी हिन्दू समुदायका लागि दसैं मात्र पर्व होइन, भावनाको धरोहर हो। यस दिन परिवारका सदस्यहरूले आमा–बुबा, अभिभावक र ज्येष्ठको हातबाट टीका ग्रहण गर्दै धर्मको विजय र परिवारको एकतालाई पुनः स्मरण गर्छन्। उत्सवको प्रत्येक रङमा आस्था, प्रेम र आत्मीयता झल्किन्छ।

रामायणको गाथामा रामले रावणमाथि प्राप्त गरेको विजय सम्झाइने यो पर्व भूटानमा अझ विशेष मानिन्छ। यहाँ राजा विष्णुको प्रतीकका रूपमा सम्मानित  हुने भएकाले, दसैंले राजा–जनताको सम्बन्धलाई केवल राजनीतिक वा सामाजिक हैसियतमा मात्र होइन, आत्मा–आत्माबीचको गहिरो बन्धनका रूपमा प्रस्तुत गरेको अनुभूति हुन्छ।

मन्दिरभित्र घन्किएको मन्त्रध्वनि, जनतामाझ झरेको राजकीय आशीर्वाद र श्रद्धा–उल्लासको अपूर्व संगमले यसपटकको दसैंलाई भूटानी इतिहासमा भावनात्मक र अविस्मरणीय क्षणका रूपमा कोरेको छ।