काठमाडौं, असोज १९, सिंगापुरमा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली चन्द्रप्रकाश (सीपी) खेतानले स्वीट्जरल्याण्डको प्रसिद्ध फुटबल क्लब एफसी साफहाउजेन खरिद गरेका छन्।

खेतानले आफ्नी कम्पनी लोटस वन इन्वेस्टमेन्ट मार्फत करिब १ अर्ब ७८ करोड रुपैयाँ (करिब १ करोड ३० लाख स्विस फ्राङ्क) लगानी गरी क्लबको स्वामित्व हासिल गरेका हुन्।

वार्षिक ८० करोड रुपैयाँको बजेट रहेको एफसी साफहाउजेनको स्वामित्व पाउने खेतान पहिलो नेपाली बनेका छन्। क्लब हाल स्वीट्जरल्याण्डको दोस्रो डिभिजनमा खेल्दै आएको छ।

खेतानले भनें, “नेपालको नाम अन्तर्राष्ट्रिय खेल जगतमा पुर्‍याउने सपना साकार गर्न यो लगानी महत्वपूर्ण छ।” उनका अनुसार क्लबमा खेलाडी विकास, पूर्वाधार सुधार र अन्तर्राष्ट्रिय साझेदारीका लागि दीर्घकालीन योजना तयार गरिएको छ।

स्विस फुटबल संघको अनुमतिपछि स्वामित्व हस्तान्तरण प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। यो लगानीले नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय पहुँच र क्षमताको नयाँ उदाहरण प्रस्तुत गरेको बताइएको छ।