विराटनगर, असोज २२, हालैको अविरल वर्षाका कारण बाढीपहिरोले प्रभावित बनाएका जिल्लाहरूमा स्वास्थ्य जोखिम बढेपछि कोशी प्रदेश सरकारले आकस्मिक स्वास्थ्य अभियान सुरु गरेको छ। प्रदेश सरकारको पहलमा आजदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीको विशेष टोली प्रभावित क्षेत्रमा खटिने तयारीमा छन्।

प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा. केनीन राईका अनुसार मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन विभागका संयुक्त टोलीहरू बिहानै इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुरतर्फ प्रस्थान गर्दै छन्।

डा. राईले बताए अनुसार टोलीले बाढीपहिरो प्रभावित बस्तीमा पुगेर महामारी तथा सरुवा रोग फैलिन नदिन जनचेतनामूलक सन्देश दिने, रोगका प्रारम्भिक लक्षण पहिचान गर्ने र आवश्यक स्वास्थ्य सामग्री तथा सेवा उपलब्ध गराउनेछ। साथै टोलीले स्थानीय स्वास्थ्य संस्थाको अवस्था र क्षतिको विस्तृत विवरण पनि संकलन गर्ने जनाएको छ।

प्रदेश सरकारले बाढीपछि देखा पर्न सक्ने जलजन्य तथा किटजन्य रोग नियन्त्रणलाई प्राथमिकता दिँदै स्वास्थ्य सेवा सहज बनाउन यो अभियान सुरु गरेको जनाएको छ।