इजरायल–हमासबीच शान्तिको पहिलो पाइला, ट्रम्पले घोषणा गरे ‘महान् दिन’
२०८२ आश्विन २३, बिहीबार ०६:४८
वासिङ्टन असाेज २३, मध्यपूर्वमा दशकौंको द्वन्द्व अन्त्यतिर पहिलो ठोस कदम बढ्दै इजरायल र हमासबीच शान्ति योजनाको प्रारम्भिक चरणमा हस्ताक्षर भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको औपचारिक घोषणा गर्दै यसलाई “महान् दिन” को संज्ञा दिएका छन्।
ट्रम्पका अनुसार सम्झौताअन्तर्गत दुवै पक्षले सहमतिको सीमासम्म आ–आफ्ना सेना फिर्ता गर्नेछन् र सबै बन्धकलाई छिट्टै मुक्त गरिनेछ। उनले यो सम्झौता “दिगो र स्थायी शान्तिको आधारशिला” हुने दाबी गरे।
“यो केवल इजरायल र हमासका लागि होइन, सम्पूर्ण अरब–मुस्लिम विश्व, इजरायलका छिमेकी मुलुकहरू र संयुक्त राज्य अमेरिकाका लागि पनि ऐतिहासिक क्षण हो,” ट्रम्पले भने। उनले सम्झौता सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताप्रति आभार व्यक्त गरे।
राजनीतिक विश्लेषकहरूले यसलाई क्षेत्रीय स्थायित्वतर्फको आशाजनक संकेतका रूपमा लिएका छन्, यद्यपि आगामी चरणहरूमा अझ गम्भीर चुनौतीहरू बाँकी रहेको चेतावनी पनि दिएका छन्।




