नेपालको विजयी सुरुवात : कुवेत ५८ रनले पराजित
२०८२ आश्विन २३, बिहीबार १०:३९
काठमाडौं, विराटपाटी अनलाइन असाेज २३,
टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको पहिलो खेलमा नेपालले दमदार प्रदर्शन गर्दै कुवेतलाई ५८ रनले पराजित गरेको छ। बल, ब्याट र फिल्ड—तीनै विभागमा सन्तुलित प्रदर्शन गर्दै नेपालले प्रतियोगिताको विजयी सुरुवात गरेको हो।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४१ रन जोड्यो। ओपनर कुशल भुर्तेलले उत्कृष्ट संयम देखाउँदै ५६ बलमा ६६ रनको पारी खेले। उनले तीन चौका र तीन छक्का प्रहार गर्दै टोलीलाई बलियो सुरुवात दिलाए। उनलाई गुल्सन झाले २३ रनको साथ दिए। अन्त्यतिर दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले केही तीब्र रन थपे।
१४२ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलरहरूको अनुशासित आक्रमण अगाडि टिक्न सकेन। १८.१ ओभरमै ८३ रनमा अलआउट हुँदै उनीहरूले हार व्यहोरे। नेपालका लागि सन्दीप लामिछाने, अविनाश बोहरा र दीपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए।
फिल्डिङमा पनि नेपाल निकै फुर्तिलो देखियो। कप्तान रोहित पौडेलको नेतृत्वमा टोलीले एकतालाई बलियो बनाउँदै खेलमा सम्पूर्ण नियन्त्रण जमायो।
यस जितसँगै नेपालले विश्वकप छनोट अभियानमा आत्मविश्वासपूर्ण सुरुवात गरेको छ। अब नेपालले आगामी सोमबार मलेसियाविरुद्ध दोस्रो खेल खेलेर अर्को जितको खोजी गर्नेछ।




