लिमा असाेज २४,दक्षिण अमेरिकी मुलुक पेरुमा लामो समयदेखि चलिरहेको असन्तुष्टि अन्ततः निर्णायक मोडमा पुगेको छ। संसद्ले अत्यन्तै अलोकप्रिय राष्ट्रपति डिना बोलुआर्तेलाई महाभियोग लगाएर पदमुक्त गरेसँगै पेरुमा फेरि सत्ता परिवर्तन भएको छ।

अपराध नियन्त्रण गर्न नसकेको आरोपमा जनआक्रोश उर्लिएको बेला संसदको १३० मध्ये १२४ जना सांसदले बोलुआर्तेको विपक्षमा मतदान गरे। संसदले उनलाई बिहीवार मध्यरातसम्म उपस्थित हुन निर्देशन दिएको थियो, तर उनी नआएपछि महाभियोग प्रस्ताव सर्वसम्मतजस्तै पारित गरियो।

यसबीच राजधानी लिमालगायतका सहरहरूमा जेनजी युवाहरूको आन्दोलनले निर्णायक दबाब बनाएको थियो। उनीहरूले तलब, रोजगार र निवृत्तिभरण प्रणालीमा सुधारको माग गर्दै निरन्तर सडकमा उत्रिएका थिए। आन्दोलनकै क्रममा राजधानीमा गोली चलेपछि जनआक्रोश चरममा पुगेको थियो।

राजनीतिक विश्लेषकहरूका अनुसार, बोलुआर्तेप्रति जनता मात्र होइन, उनको आफ्नै दलभित्र पनि असन्तोष बढ्दै गएको थियो। अपराध, बेरोजगारी र राजनीतिक अस्थिरताले थकित नागरिकहरूले नयाँ नेतृत्वको माग गर्दै सडक तताएका थिए।

रोचक कुरा, सन् २०२२ मा बोलुआर्ते आफैंले आफ्ना पूर्ववर्तीलाई महाभियोगमार्फत हटाएर सत्तामा आएकी थिइन्। तर, त्यो इतिहास आज उल्टिएको छ — अब उनी नै संसदको निर्णयले सत्ताच्युत भएकी छन्।

पेरुमा फेरि राजनीतिक अनिश्चितताको नयाँ अध्याय सुरु भएको छ, जबकि देशका जेनजी पुस्ता “परिवर्तनको नयाँ पाना लेख्ने” घोषणा गर्दै सडकमै छन्।