मधेसका स्वास्थ्यकर्मीहरूले आन्दोलनको तयारी
२०८२ आश्विन २७, सोमबार ११:०७
जनकपुरधाम असाेज २७,मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थामा भइरहेको श्रमशोषण र असमान व्यवहारविरुद्ध आवाज उठाउँदै आन्दोलनको तयारी थालेका छन्।
धनुषा जिल्लाका निजी अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको संयुक्त पहलमा कात्तिक १६ गतेदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरिएको छ।
आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले ८ बुँदे माग सार्वजनिक गर्दै लामो समयदेखि न्यून तलब, जोखिमपूर्ण कार्य वातावरण र व्यवस्थापनको मनोमानीका कारण पेशागत असन्तुष्टि बढेको बताएका छन्।
स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको कानुनअनुसार तलब स्केल लागू गर्न, करार सेवामा रहेका सरकारी स्वास्थ्यकर्मीलाई हटाएर लोक सेवा आयोगमार्फत स्थायी दरबन्दी भर्न, बीमा तथा सुरक्षाको सुनिश्चितता गर्न र साप्ताहिक कामको सीमा ४२ घण्टामा सीमित गर्न माग गरेका छन्।
त्यस्तै, स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क उपचारको सुविधा, निजी अस्पतालमा बिदा र भत्ता प्रणाली लागू गर्न, हरेक वर्ष १० प्रतिशत तलब वृद्धिको व्यवस्था गर्न तथा निजी र सरकारी अस्पतालमा समान विज्ञापन प्रणाली लागू गर्नुपर्ने उनीहरूको माग छ।
स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन् कि माग पूरा नभए आन्दोलनलाई चरणबद्ध रूपमा तीव्र पारिनेछ।




