काठमाडौं असाेज २९, नेपाली क्रिकेट टोलीले ऐतिहासिक उपलब्धि हासिल गर्दै लगातार दोस्रो पटक टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पाएको छ।

ओमानमा जारी आईसीसी टी–२० विश्वकप इस्ट एसिया प्यासिफिक क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले विश्वकपको टिकट पक्का गरेको हो। यसअघि सन् २०२४ को संस्करणमा पनि नेपालले विश्वकप खेलेको थियो।

नेपालसँगै आयोजक राष्ट्र ओमानले पनि विश्वकपको यात्रा तय गरेको छ। दुवै टोलीले समान ६ अंक जोडेका छन् तर नेट रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ।

अब समूह चरणको अन्तिम तथा निर्णायक खेलमा बुधबार नेपाल र ओमान आमनेसामने हुँदैछन्। उक्त खेलले समूह विजेता निर्धारण गर्नेछ।

नेपालको यो सफलता पछाडि कप्तान रोहित पौडेलको नेतृत्व, बलर सन्दीप लामिछाने र अविनाश बोहराको उत्कृष्ट बलिङ र ब्याट्सम्यान दीपेन्द्र ऐरी, आसिफ शेख र कुशल भुर्तेलको आक्रामक ब्याटिङ मुख्य कारण रहेको छ।

नेपाल क्रिकेट संघ (CAN) ले टिमको ऐतिहासिक जितको लागि बधाई दिंदै विश्वकपका तयारीहरू सुरु गरिसकेको जनाएको छ।
आगामी विश्वकप २०२६ मा श्रीलङ्का र भारतमा आयोजना हुने तय गरिएको छ।