जेनजी आन्दोलनको लहरपछि माडागास्करमा सत्ता सेनाको हातमा
२०८२ आश्विन ३०, बिहीबार १०:५७
काठमाडौं, असोज ३० – जेनजी युवाद्वारा सुरु भएको जनआन्दोलनको प्रभाव माडागास्करमा ठुलो राजनीतिक भूकम्पको रूपमा देखा परेको छ। लगातार बढ्दै गएको जनदबाबबीच राष्ट्रपति एन्ड्री राजोइलिना देश छोडेर फरार भएपछि सेनाले सत्ता कब्जा गरेको घोषणा गरेको छ।
सीएपीएसएटी नामक विशेष सैन्य एकाइका प्रमुख कर्नेल माइकल रान्ड्रियानीरिना ले मंगलबार देशको कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिएको सार्वजनिक रूपमा घोषणा गरे। उनले भने, “देशमा राजनीतिक रिक्तता र अराजकता सिर्जना भएको छ, त्यसैले राष्ट्र स्थिरता कायम राख्न सेना अघि आएको हो।”
विगत केही हप्तादेखि राजधानी एन्टानानारिभोलगायत देशका मुख्य सहरहरूमा जेनजी युवाको नेतृत्वमा व्यापक प्रदर्शन भइरहेको थियो। भ्रष्टाचार, बेरोजगारी र असमानताका विरुद्ध सुरु भएको आन्दोलन शनिबार निर्णायक रूप लियो, जब रान्ड्रियानीरिनाको नेतृत्वमा रहेको सैन्य एकाइले विद्रोह गर्दै प्रदर्शनकारीसँग हात मिलायो र राष्ट्रपतिलाई राजीनामा दिन दबाब दियो।
सेनाको समर्थन पाएपछि रान्ड्रियानीरिनाले सोमबार नै सत्ता सम्हाल्ने घोषणा गर्दै भनेका थिए, “राष्ट्रपति, प्रधानमन्त्री र संसद्—तीनै निकाय निष्क्रिय भइसकेका छन्, अब देशको जिम्मेवारी सेनाले लिएको छ।”
यसैबीच, माडागास्करको संवैधानिक अदालतले समेत उनलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएको छ। उनले छिट्टै नयाँ प्रधानमन्त्री नियुक्त गरेर “राष्ट्रिय पुनर्निर्माण सरकार” गठन गर्ने योजना अघि सारेका छन्।
दुई पटक सत्ताच्युत भएका पूर्वराष्ट्रपति राजोइलिनाले भने यो कदमलाई “पूर्ण रूपमा गैरकानुनी सैन्य हस्तक्षेप” भनेका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “म मेरो ज्यानको सुरक्षाका लागि देश छोड्न बाध्य भएँ, तर म लोकतन्त्रको पुनःस्थापनाका लागि लड्नेछु।”
सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता पाएपछि माडागास्करमा यो पाँचौँ पटक सत्तापलट भएको हो। रोचक कुरा, हाल भागेका राष्ट्रपति राजोइलिनाले पनि सन् २००९ मा सेनाको समर्थनमै सत्ता सम्हालेका थिए।
देशमा अहिले सेना सशस्त्र निगरानीमा छ, सडकमा बख्तरबन्द गाडीहरू गस्ती गरिरहेका छन्, र जनताले ‘नयाँ सुरुवात’ को आशा र अनिश्चितताको भयबीच दिन बिताइरहेका छन्।




