सी जिनपिङद्वारा नौ शीर्ष सेनापति बर्खास्त : चीनमा दशककै ठूलो सैन्य शुद्धीकरण
२०८२ कार्तिक १, शनिबार २१:११
बेजिङ कार्तिक १ ,चीनका राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनाभित्र (People’s Liberation Army – PLA) व्यापक शुद्धीकरण अभियान चलाउँदै नौ जना शीर्ष कमाण्डरहरूलाई एकैपटक बर्खास्त गरेका छन्।
शुक्रबार रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ती अधिकारीहरू भ्रष्टाचार र पदको दुरुपयोगमा संलग्न रहेको ठोस प्रमाण फेला परेपछि कारबाही गरिएको जनाइएको छ।
बर्खास्तमा परेका मध्ये प्रमुख नाममा सेन्ट्रल मिलिटरी कमिसन (CMC) का उपाध्यक्ष तथा पोलिटब्युरो सदस्य जनरल ह वेइदङ छन्। उनीसँगै CMC का अर्का सदस्य मिआओ हुआ, राजनीतिक कार्य विभागका पूर्व उपप्रमुख ह हङजुन, र PLA रकेट फोर्सका प्रमुख वाङ हाउबिन लगायत नौ जना वरिष्ठ अधिकारीलाई पदमुक्त गरिएको हो।
फाइनान्सियल टाइम्स र रोयटर्सका अनुसार, उनीहरूलाई पार्टी सदस्यताबाट समेत निष्कासन गरी सैन्य अभियोजन कार्यालयमा मुद्दा दर्ता गरिएको छ। विश्लेषकहरूले यस कदमलाई पछिल्ला दशकहरूमा चीनमा देखिएको सबैभन्दा ठूलो सैन्य सफाइ अभियानको रूपमा व्याख्या गरेका छन्।
रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ — “यो कदमले सेनालाई शुद्ध, अनुशासित र युद्धका लागि तयार बनाउने दिशामा ऐतिहासिक उपलब्धि ल्याएको छ। भ्रष्टाचारका लागि अब सेनाभित्र कुनै ठाउँ बाँकी छैन।”
राष्ट्रपति सीले सन् २०२३ देखि सेनाभित्रको अनियमितता नियन्त्रण गर्न थालेको यो अभियान सुरुमा खरिद र व्यवस्थापन क्षेत्रमा केन्द्रित थियो। तर अहिले स्थलीय सेना, नौसेना, रकेट फोर्स र सशस्त्र प्रहरी सबै शाखामा फैलिएको छ।
राजनीतिक विश्लेषकहरूको भनाइमा, यो केवल आर्थिक अनियमितताको मुद्दा होइन — यसले सी जिनपिङको सैन्य नेतृत्वप्रतिको विश्वास संकट पनि प्रकट गर्छ।
चिनियाँ इतिहासमा करिब छ दशकपछि पहिलोपटक यति उच्च तहका सेनापतिहरू हटाइएका हुन्।
अब आउने कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा सैन्य पुनर्संरचना र नयाँ पाँच वर्षे रणनीतिक योजना मुख्य एजेन्डा बन्ने सम्भावना रहेको बताइन्छ।




