हिटलरको प्रशंसा गर्दै रिपब्लिकन युवाको च्याट सार्वजनिक, अमेरिकाभरै हंगामा
२०८२ कार्तिक ८, शनिबार २१:२२
काठमाडौं कार्तिक ८ शनिबार , अमेरिकाको सत्तारूढ रिपब्लिकन पार्टीका युवा नेताहरूको निजी टेलिग्राम च्याट सार्वजनिक भएपछि अमेरिकी राजनीति र समाजमा ठूलो हलचल मच्चिएको छ।
अंग्रेजी मिडिया पोलिटिको ले अक्टोबर १४ मा करिब २,९०० पृष्ठ लामो च्याट सामग्री सार्वजनिक गरेको हो, जसमा पार्टीका युवाबीच जातिवादी, यहूदीविरोधी र हिंसात्मक अभिव्यक्ति प्रशस्तै भेटिएका छन्।
सात महिनासम्म चलेको उक्त संवादमा “I Love Hitler” भन्ने वाक्य २५१ पटकभन्दा बढी प्रयोग गरिएको पाइएको छ।
त्यसबाहेक अश्वेतहरूलाई बाँदर भन्ने, यहूदी र महिलामाथि अपमानजनक टिप्पणी गर्ने र राजनीतिक विरोधीहरूलाई “ग्यास च्याम्बरमा पठाउनुपर्छ” भन्ने जस्ता अभिव्यक्तिहरू पनि समावेश छन्।
याेङ्ग रिपव्लिक नेसनल फेडरेसन अन्तर्गतका विभिन्न राज्य न्यूयोर्क, कन्सास, एरिजोना र भर्मन्ट—का नेताहरू र सदस्यहरू उक्त च्याटमा संलग्न थिए।
न्यूयोर्क राज्यका युवा रिपब्लिकन अध्यक्ष पिटर गुइन्टा र भर्मन्टका राज्य सिनेटर सामुअल डगलस समेतको नाम उक्त वार्तालापमा देखिएको पोलिटिको ले जनाएको छ।
समाचार सार्वजनिक भएपछि कसैले राजीनामा दिएका छन्, केही समूहहरू विघटन गरिएका छन्।
कन्सास युवा रिपब्लिकन संगठन आधिकारिक रूपमा बन्द गरिएको छ।
न्यूयोर्कका प्रतिनिधि माइकल लोलर ले सामाजिक सञ्जाल X मा लेखेका छन्
“यी आपत्तिजनक र लज्जाजनक टिप्पणीहरू घृणित छन्। संलग्नहरूले तुरुन्त राजीनामा दिनुपर्छ।”
तर उपराष्ट्रपति जेडी भान्स ले यसलाई “जवानहरूले गरेका मूर्खतापूर्ण कुरा” भन्दै पन्छाउने प्रयास गरेका छन्, जसले अझ विवाद बढाएको छ।
मिडिया विज्ञ रीस पेक का अनुसार, ट्रम्पपश्चात अमेरिकामा “घृणात्मक भाषा सामान्य बन्न थालेको” छ।
ट्रम्पका भाषण र अनलाइन मीमहरूले युवाहरूमा “वर्जित कुरा बोल्दा लोकप्रिय हुने संस्कृतिको” विकास गरेको उनले बताए।
डेमोक्र्याटिक सिनेटर चक शुमर र न्युयोर्ककी गभर्नर क्याथी होचुल ले यस घटनालाई “श्वेत सर्वोच्चतावादको स्पष्ट उदाहरण” भन्दै संलग्नहरूलाई पार्टीबाट निकाल्न माग गरेका छन्।
विश्लेषकहरूका अनुसार यो केवल केही युवाको निजी च्याट होइन—
यो अमेरिकी राजनीतिमा अतिवाद र घृणा कसरी सामान्य बन्दैछ भन्ने खतरनाक संकेत हो।
‘Make America Great Again’ भन्ने नारा अहिले “Hate America Again” बन्ने डर व्यक्त गरिएको छ।




