धरान, सुनसरी कार्तिक ११ मंगलबार  — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आन्तरिक नियम उल्लङ्घन गर्ने चिकित्सक र कर्मचारीमाथि कडाइको नीति लागू गर्दै पाँच जनालाई बर्खास्त र तीन जनामाथि विभागीय कारबाही गरेको छ।

रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार बर्खास्तमा पर्नेमा स्त्रीरोग विशेषज्ञ तथा पूर्व–रजिस्ट्रार प्रा.डा. मोहन्चन्द्र रेग्मी प्रमुख रहेका छन्। रेग्मी प्रतिष्ठानमै कार्यरत रहँदै काठमाडौंको सिभिल अस्पतालमा निर्देशक बनेका थिए। दुई वर्षको काज अवधि सकिएपछि पनि उनले धरानमा हाजिरी नदिएकाले कार्यकारिणी समितिले उनलाई बर्खास्त गरेको हो।

त्यस्तै, रेग्मीकी पत्नी तथा स्कुल अफ पब्लिक हेल्थकी असिस्टेन्ट प्रोफेसर डा. लक्ष्मी सुवेदी लाई पनि बिना अनुमति विदेश अध्ययनका लागि गएको प्रमाणित भएपछि पदबाट हटाइएको प्रतिष्ठानले जनाएको छ।

अनुशासनहीनता र नियम उल्लङ्घनका कारण अन्य कर्मचारी दिलीप परियार, किरण भट्टराई र सुरेन बास्फोर पनि बर्खास्तीमा परेका छन्।

यस्तै, हाडजोर्नी विभाग प्रमुख डा. रोशन कलवार र शाखा अधिकृत कान्तलाल चौधरीलाई एक–एक ग्रेड घटाई विभागीय कारबाही गरिएको छ। उनीहरूमा पदको दुरुपयोग र प्रशासनिक नियम उल्लङ्घनको प्रमाण फेला परेको प्रतिष्ठानले जनाएको छ।

प्राध्यापक श्याम लम्सालले भने प्रोफेसर बढुवामा गलत अनुभव विवरण प्रस्तुत गरेको पाइएको छ। छानबिनपछि उनलाई दुई तह घटाएर एसोसिएट प्रोफेसरमा झारिएको र त्यसपछि उनले राजीनामा दिएको पुष्टि गरिएको छ।

रजिस्ट्रार संग्रौलाले भने, “संस्थाको विश्वसनीयता र अनुशासन कायम राख्न कडाइका साथ कदम चालिएका छन्। अब कसैलाई पनि नियम विपरीत काम गर्न दिइँदैन।”

प्रतिष्ठानमा पछिल्ला वर्षहरूमा बढ्दो अनियमितता, राजनीतिक प्रभाव र प्रशासनिक कमजोरीका कारण विश्वसनीयता घटेको भन्दै नेतृत्वले सुधार अभियान थालेको जनाएको छ।

यो कारबाहीपछि प्रतिष्ठानभित्र अनुशासन, पारदर्शिता र जिम्मेवारीप्रतिको चेतना थप मजबुत हुने अपेक्षा गरिएको छ।