विराटनगर, कात्तिक १२ बुधबार — विश्वप्रसिद्ध प्रेरणादायी वक्ता र ब्रह्माकुमारी संस्थाकी प्रमुख दूत सिस्टर बीके शिवानी यही शुक्रबार विराटनगर आइरहेकी छन्।

सकारात्मक सोच, शान्त मन र सन्तुलित जीवन’ भन्ने मूल सन्देशसहित उनी विराटनगरस्थित जैन भवनमा दिउँसो ४ः३० बजे सुरु हुने प्रेरणादायी प्रवचनमा सहभागी हुने कार्यक्रम तय भएको छ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले मंगलबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै यसलाई विराटनगरको निजी क्षेत्रले संयुक्त रूपमा आयोजना गरेको जनाएको छ। 

मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशीनेपाल उद्योग वाणिज्य महासंघ कोशी विराटनगरले सह–आयोजकको भूमिका निर्वाह गरिरहेका छन्।

कार्यक्रम संयोजक उद्योगी महेश जाजूका अनुसार, “तनाव र निराशाले ग्रस्त समाजमा सिस्टर शिवानीको सन्देश विराटनगरवासीका लागि ऊर्जामय प्रेरणा बन्नेछ।”

करीब अढाई हजारभन्दा बढी सहभागी— उद्योगी, व्यापारी, शिक्षाविद्, सामाजिक अभियन्ता र युवाहरू—को उपस्थितिमा हुने यो कार्यक्रम करिब ढाई घण्टासम्म सञ्चालन हुनेछ।

 प्रवेश निःशुल्क भए पनि सिट संख्या सीमित भएकाले अग्रिम आमन्त्रण कार्ड वितरण सुरु गरिएको आयोजकले जनाएको छ।

सिस्टर शिवानीले यसअघि काठमाडौं, पोखरा र बुटवलमा पनि विशाल सभा सम्बोधन गरिसकेकी छन्। उनका प्रवचनहरू ‘मनको शक्ति, आत्म–नियन्त्रण, सम्बन्धमा सामञ्जस्यआध्यात्मिक नेतृत्व’ जस्ता व्यवहारिक जीवनका विषयमा केन्द्रित रहँदै आएका छन्।

विश्वका ५० भन्दा बढी देशमा प्रवचन दिइसकेकी सिस्टर शिवानी अन्तर्राष्ट्रिय टेलिभिजन कार्यक्रमकी लोकप्रिय प्रस्तुतकर्ता पनि हुन्। उनका विचारमा, “सकारात्मक सोच भनेको समस्याबाट डराउनु होइन, त्यसको समाधान खोज्ने दृष्टिकोण अपनाउनु हो।”

आयोजकहरूको भनाइमा, यो कार्यक्रम केवल आध्यात्मिक सन्देशमा सीमित नभई जीवनशैली सुधार र सोचमा सन्तुलन ल्याउने अभियान हो — जसले विराटनगरमा नयाँ चेतनाको सुरुवात गर्ने अपेक्षा गरिएको छ।