उच्च रक्तचाप : नदेखिने तर घातक ‘साइलेन्ट किलर’
२०८२ कार्तिक १३, बिहीबार १९:४४
काठमाडौं कात्तिक १३, बिहीबार स्वास्थ्य–विशेष , ब्राजिलकी मेरीयान डराइन् अचानक नाकबाट रगत बग्न थालेपछि आतंकित भइन्। चिकित्सकले जाँच गर्दा कारण भेटिएन— तर अन्ततः निष्कर्ष निस्कियो, “उहाँलाई उच्च रक्तचाप रहेछ।” उनी भन्छिन्, “लक्षणै नदेखिँदा म त मर्नै लागेँ कि भनेर डराएकी थिएँ।”
यस्तै अनुभव हजारौँ मानिसको हुन्छ, किनभने उच्च रक्तचाप (Hypertension) धेरैजसोमा ‘लक्षणविहीन’ रहन्छ। यही कारण चिकित्सकहरूले यसलाई साइलेन्ट किलर अर्थात् ‘नदेखिने घातक रोग’ भन्छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार करिब २५ प्रतिशत नेपाली उच्च रक्तचापबाट ग्रसित छन्।
स्वास्थ्य जनसांख्यिक सर्वेक्षणका अनुसार पुरुषमा २३.४ प्रतिशत र महिलामा १६.८ प्रतिशतमा यो समस्या देखिएको छ।
विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार “आजकल २०–३० वर्षका युवामा समेत रक्तचापको समस्या देखिन थालेको छ। मोटोपना, तनाव, फास्टफुड, धूम्रपान र मदिरा यसको मुख्य कारण हुन्।”
रक्तचाप बढ्दा अंगहरूमा पर्ने असर मस्तिष्क स्ट्रोक, पक्षाघात । आँखा दृष्टि कमजोर, रक्तश्राव। मुटु मुटु बाक्लो हुने, कमजोरी । मिर्गौला कार्यक्षमता घट्ने । नाक रक्तश्राव हुने । खुट्टा सुन्निने, दुख्ने
उच्च रक्तचाप भएका बिरामीले नखानुपर्ने खानेकुरा
अचार, सुप, सौस, पापड – सोडियम (नुन) अत्यधिक।चाउचाउ, फास्टफुड, दालमोठ, चिप्स – रक्तचाप झन् बढाउँछ। चिल्लो र तारेको खानेकुरा – रातो मासु, घिउ, बटर, चीज, डोनट आदिबाट टाढा रहनुहोस्।कफी र मदिरा – क्याफाइन र अल्कोहलले रक्तचाप उच्च बनाउँछ।चिनी र मीठा परिकार – मोटोपना बढाएर रक्तचाप बढाउने।
जीवनशैली कस्तो हुनुपर्छ
सन्तुलित आहार: फलफूल, सागसब्जी, सम्पूर्ण अन्न, कम नुन र कम बोसोयुक्त खाना।
नुन घटाउने: दिनमा ५ ग्रामभन्दा बढी नुन प्रयोग नगर्नुहोस्।
तौल सन्तुलनमा राख्ने: उचाइ (सेन्टिमिटर) – १०० = उपयुक्त तौल।
तनाव कम गर्ने: ध्यान, संगीत, हिँडाइ वा विश्राम अभ्यास।
धूम्रपान र रक्सी पूर्ण निषेध।
नियमित व्यायाम: हिँड्ने, पौडी, साइकल चलाउने आदि दैनिक ३० मिनेट।
रक्तचाप नियमित मापन: विशेष गरी ४० वर्ष नाघेपछि हरेक ३ महिनामा।
औषधि निरन्तर सेवन: चिकित्सकको सल्लाहबमोजिम मात्र।
डा. अनिल भन्छन् “उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिएन भने मस्तिष्कघात, मुटुघात र मिर्गौला फेलजस्ता घातक रोग निम्त्याउँछ। सचेत रहनु नै उपचारको पहिलो चरण हो।”




