ढाका, बंगलादेश कार्तिक १८ मंगलबार , बंगलादेशकी ८० वर्षीया पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनल पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जियाले आगामी फेब्रुअरीमा हुने आम निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेकी छन्।

बीएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरका अनुसार जियाले देशका तीन फरक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने निर्णय गरेकी हुन्। उनीका अनुसार, यो निर्णयले बंगलादेशको राजनीतिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

पूर्व प्रधानमन्त्री जिया लामो समयदेखि स्वास्थ्य समस्या र कानुनी विवादका कारण सक्रिय राजनीतिबाट टाढा रहेकी थिइन्। तर, अहिले उनले पुनः प्रत्यक्ष राजनीतिक यात्राको सुरुवात गर्दै पार्टी कार्यकर्तामा उत्साह जगाएको बीएनपी नेताहरूको भनाइ छ।

पार्टी स्रोतका अनुसार, जियाको उम्मेदवारी दर्ता भएपछि बीएनपीले देशव्यापी प्रचार अभियान सुरु गर्ने तयारी गरेको छ।

स्मरण रहोस्, खालिदा जिया दुईपटक बंगलादेशकी प्रधानमन्त्री भइसकेकी हुन् र उनको राजनीतिक जीवन बंगलादेशको सत्ता–संघर्षको केन्द्रमा रहँदै आएको छ।