हुम्लामा १६ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद
२०८२ कार्तिक १९, बुधबार ०८:३५
हुम्ला, कात्तिक १९ बुधबार , हुम्ला प्रहरीले ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले हिल्सा नाका हुँदै विभिन्न स्थानमा लुकाइराखिएको ३५१ कार्टुन (करीब ४ हजार २१२ बोतल) चिनियाँ मदिरा बरामद गरेको हो।
नाम्खा गाउँपालिकाका ढाडकेर्मी, तुम्कोटलगायत स्थानमा प्रहरीले छापा मारी सो मदिरा फेला पारेको थियो। बरामद मदिराको बजार मूल्य करीब १६ लाख ८४ हजार ८ सय रुपैयाँ बराबर पर्ने जनाइएको छ।
डीएसपी पोखरेलका अनुसार मदिरा बेवारिसे अवस्थामा फेला परेको हो। उनले भने, “हिल्सा नाका हुँदै ल्याइएको अवैध अखाद्य चिनियाँ मदिरा करीब २ हजार २२ लिटरको परिमाणमा बरामद भएको छ, जसलाई नष्ट गरिनेछ।”
स्थानीय प्रशासनले सीमाक्षेत्रमा अवैध वस्तु तस्करी नियन्त्रण गर्न निगरानी कडा बनाउने तयारी गरेको छ।




