रुपन्देही, कात्तिक १९ बुधबार , नेपालको खाद्य प्रशोधन उद्योगले ऐतिहासिक सफलता हात पारेको छ। रुपन्देहीस्थित फर्स्ट च्वाइस फुड्स प्रालिले पहिलोपटक अमेरिकातर्फ ४३.५ टन प्रिमियम फ्रेन्च फ्राइज निर्यात गरी नेपाललाई विश्व खाद्य बजारमा नयाँ पहिचान दिलाएको छ।

करीब रु २ अर्ब (२४ मिलियन अमेरिकी डलर) को लगानीमा स्थापन गरिएको यो अत्याधुनिक उद्योगले युरोपेली प्रविधिमा आधारित उत्पादन सुरु गरेको हो। नेपाली आलुबाट बनेको फ्रेन्च फ्राइजले अन्तर्राष्ट्रिय गुणस्तर पूरा गरेको कम्पनीको दाबी छ।

फर्स्ट च्वाइस फुड्सले अमेरिकातर्फ पठाएको पहिलो लटमा ४३,५२० किलो (४३.५ टन) फ्रेन्च फ्राइज निर्यात गरिएको छ, जसको मूल्य करिब रु ५४ लाख ८८ हजार बराबरको रहेको छ। कम्पनीले यसअघि भारततर्फ पनि व्यावसायिक निर्यात सुरु गरिसकेको छ।

उद्योग सञ्चालनसँगै रुपन्देही र आसपासका क्षेत्रमा सयौँ प्रत्यक्ष रोजगारी सिर्जना भएको छ। कम्पनीले १९ जिल्लाका किसानहरूसँग दीर्घकालीन आलु आपूर्तिको सम्झौता गर्दै स्थानीय कृषकलाई स्थिर बजार सुनिश्चितता प्रदान गरेको जनाएको छ। यसले कृषक आम्दानीमा वृद्धि र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

अर्थशास्त्रीहरूको मूल्यांकनमा, नेपालले अब कच्चा उत्पादन निर्यात होइन, प्रशोधित मूल्यवृद्धि भएको उत्पादन बाहिर पठाउन थालेको हो।

फ्रेन्च फ्राइज जस्तो उच्च माग भएको वस्तुको निर्यातले वार्षिक रूपमा रु ५० करोडभन्दा बढी विदेशी मुद्रा आर्जन सम्भावना देखिएको छ।

यसले आयात प्रतिस्थापनमार्फत व्यापार घाटा घटाउन सहयोग पुर्‍याउनेछ।स्थानीय उद्योग विस्तारले कृषि–उद्योग सहकार्यको नयाँ ढाँचा निर्माण गर्नेछ।

विशेषज्ञहरूको भनाइमा, नेपालले फ्रेन्च फ्राइज जस्तो ग्लोबल उत्पादनमा प्रतिस्पर्धा गर्न थालेको यो प्रयास “कृषि–उद्योग एकीकरण” को ठोस मोडेल बन्न सक्छ।

फर्स्ट च्वाइस फुड्सले देखाएको यो पहलले नेपालको खाद्य उद्योगलाई नयाँ युगतर्फ अघि बढाएको छ — जहाँ “मेड इन नेपाल ” ले अब केवल हस्तकलामा होइन, विश्वका भान्सामा पनि आफ्नो स्वाद पुर्‍याउनेछ।