फारबेसगञ्जमा मोदीको शक्ति प्रदर्शन : ‘जंगलराज’ समाप्त, बिहार विकासको बाटोमा’
२०८२ कार्तिक २०, बिहीबार १४:४६
फारबेसगञ्ज (बिहार), कात्तिक २० बिहीबार ,भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार सीमावर्ती फारबेसगञ्जमा आयोजित चुनावी सभामा बिहारको राजनीतिक स्थिरता र विकासलाई मुख्य एजेन्डा बनाएर मतदातालाई प्रत्यक्ष सम्बोधन गरे।
विराटनगर–जोगबनी नाकाबाट झण्डै १७ किलोमिटर दक्षिणमा पर्ने फारबेसगञ्जमा बिहानैदेखि सुरक्षा कडा पारिएको थियो।
मैथिली भाषामा सम्बोधन सुरु गर्दै मोदीले आफू प्रधानमन्त्री भएर नभई “परिवारको सदस्य” भएर आएको दाबी गरे। पहिलो चरणको बिहार विधानसभा चुनावलाई लक्षित कार्यक्रममा उनी हेलिकोप्टरमार्फत सभास्थल पुगेका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको आजै बिहारका अन्य स्थानहरूमा पनि श्रृंखलाबद्ध सभा रहेको छ।
मोदीले विगतको राजनीतिक व्यवस्थालाई केन्द्रमा राख्दै १९९० को दशकमा राष्ट्रिय जनता दल (आरजेडी) शासन अन्तर्गत राज्य “जंगलराज र भ्रष्टाचार” मा फसेको आरोप दोहोर्याए। उनले हालको सरकारलाई स्थायित्व र विकासतर्फ उन्मुख भएको भन्दै “बिहार अब पुरानो भय र अस्थिरताबाट बाहिर निस्कँदै छ” भन्ने सन्देश दिए।
नेपाल–भारत सीमामा प्रधानमन्त्रीको उपस्थितिका कारण अतिरिक्त सुरक्षा सतर्कता अपनाइएको भारतीय प्रशासनले जनाएको छ। फारबेसगञ्जको चुनावी माहोलमा मोदीको आजको भाषणले चुनावी वाकयुद्धलाई थप तताउने संकेत देखिएको छ।




