न्यूयोर्ककी नयाँ ‘फर्स्ट लेडी’ रमाकाे विश्व भरि चर्चा किन
२०८२ कार्तिक २०, बिहीबार २२:२२
न्यूयोर्क कार्तिक २० बिहीबार , नयाँ मेयर जोहरन ममदानीको जितसँगै उनकी पत्नी रमा दुवाजी एकाएक चर्चामा आएकी छन्। लामो समयपछि न्यूयोर्क महानगरले आधिकारिक ‘फर्स्ट लेडी’ पाएको हो।
चर्चित निर्देशक मीरा नायर र प्राध्यापक महमुद ममदानीका ३४ वर्षीय छोरा जोहरन २०२१ मा नै राज्य सांसद बनेका थिए। तर २८ वर्षीया दुवाजी चुनाव प्रचारमा सक्रिय नभएकाले धेरैले उनलाई चिन्ने अवसर पाएका थिएनन्। ममदानीले मेयर पद जितेपछि विजय समारोहमा उनीसँगै उभिएकी दुवाजीका तस्वीरहरू अहिले विश्वभरि भाइरल बनेका छन्।
सिरियाली मूलकी अमेरिकी नागरिक दुवाजी पेशाले एनिमेटर, इलस्ट्रेटर तथा सेरामिक कलाकार हुन्। टेक्सासमा जन्मेकी उनी नौ वर्षको उमेरमा परिवारसँग दुबई गएकी थिइन्। उच्च विद्यालय दुबईमै पढेपछि उनले अमेरिकामा कलेज शिक्षा पूर्ण गरेकी थिइन्।
बेलायती पत्रिका द टाइम्स का अनुसार दुवाजी–ममदानीको भेट २०२१ मा एक डेटिङ एपमार्फत भएको थियो। गत वर्ष अन्त्यतिर उनीहरू इन्गेज्ड भएका थिए भने यसै वर्ष फेब्रुअरीमा विवाह गरेका हुन्।
यसअघिका मेयर एरिक एडम्स अविवाहित भएकाले न्यूयोर्कमा आधिकारिक प्रथम महिला थिएनन्। दुवाजी अब मेयर ममदानीसँग औपचारिक कार्यक्रमहरूमा सहभागी हुने अपेक्षाले उनीप्रति स्थानीय चासो बढेको बताइन्छ।




