नेपाल–भारत सीमा तीन दिनका लागि बन्द हुँदै, आवागमनमा कडाइ
२०८२ कार्तिक २१, शुक्रबार १९:३६
रौतहट, कात्तिक २१ शुक्रबार, भारतको विहार विधानसभाको दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा नेपाल–भारत सिमानामा आवागमन अस्थायी रूपमा रोकिँदैछ।
रौतहट जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते शनिबार साँझ ६ बजेदेखि कात्तिक २५ गते मंगलबार साँझ ६ बजेसम्म सीमा पूर्ण रूपमा बन्द रहने जनाएको छ।
भारतको सीतामढी र पूर्वी चम्पारणसहितका क्षेत्रमा ११ नोभेम्बर (कात्तिक २५) मा हुने मतदानलाई लक्षित गर्दै सुरक्षा संवेदनशीलता बढाइएकाले आकस्मिक सेवाबाहेक जन–आवागमन रोकिएको हो।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनामा भनिएको छ, “दोस्रो चरणको मतदानलाई शान्तिपूर्ण बनाउने उद्देश्यले ७२ घण्टा अगावै सीमा सिल गर्ने प्रावधानअनुसार सिमा नाका बन्द गरिने निर्णय गरिएको हो।”
नेपाल–भारत दुवै प्रशासनबीच भएको समन्वय बैठकपछि यो निर्णय गरिएको हो। दुवै देशमा निर्वाचन अवधिमा सम्भावित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सीमा नाका बन्द गर्ने पुरानो अभ्यास यस वर्ष पनि दोहोरिँदैछ।
यसले सिमा क्षेत्रका स्थानीयवासी र यात्रुहरूलाई केही दिन असुविधा हुने भए पनि प्रशासनले सुरक्षा प्राथमिकता दिँदै सर्वसाधारणलाई वैकल्पिक योजना बनाउन आग्रह गरेको छ।




