काठमाडौं, कात्तिक २१ शुक्रबार  , नेपाल–भारत बीच स्टार्टअप सहकार्यलाई संस्थागत बनाउने उद्देश्यसहित भारतीय दूतावास काठमाडौंले भारत–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क (IN-SPN) को पहिलो अभिमूखीकरण सत्र आयोजना गरेको छ। 

दूतावासले आगामी महिनामा हुने मुख्य कार्यक्रममा सहभागीता सुनिश्चित गर्न २०२५ नोभेम्बर ४ मा अभिमूखीकरण सत्र सम्पन्न गरेको हो।

दुवै मुलुकका स्टार्टअप इकोसिस्टमबीच गहिरो अन्तरक्रिया, प्रविधि आदान–प्रदान र सहकार्य बढाउने लक्ष्यका साथ IN-SPN कार्यक्रम २०२५ डिसेम्बरदेखि आईआईटी मद्रासमा शुरु हुने तय छ। पहिलो संस्करणमै नेपाली स्टार्टअपहरूका लागि ८ हप्ते पूर्ण–वित्तपोषित (फुल्ली फन्डेड) तालिम, नवप्रवर्तन कार्यक्रम, परामर्श र इन्टर्नसिप समावेश गरिएको छ।

 कार्यक्रम आईआईटी मद्रास प्रवर्तक (IITM Pravartak) को प्राविधिक सहकार्यमा सञ्चालन हुनेछ।

आईआईटी मद्रास प्रवर्तकलाई भारतकै अग्रणी इन्क्युबेटरमध्ये गणना गरिन्छ। यसले हालसम्म ४६ स्टार्टअप इन्क्युबेट गरिसकेको छ, जसमा १४ ले आफ्ना प्रविधि तथा सेवाको सफल व्यावसायिकीकरण गरेका छन्।

दूतावासमा भएको अभिमूखीकरण सत्रमा नेपालका विभिन्न स्टार्टअप, सरकारी निकाय, वाणिज्य संघ, रोबोटिक्स एसोसिएसन अफ नेपाल, NAS IT, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल तथा शैक्षिक संस्थाका प्रतिनिधिसहित झण्डै १०० जना उपस्थित थिए। 

साथै वीरगन्ज तथा धरानस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसबाट करिब ६० जना सहभागी भर्चुअल रूपमा जडिएका थिए।

कार्यक्रममा सेन्टर फर ह्युमन सेन्ट्रिक एआई, आईआईटी मद्रास का प्रमुख वैज्ञानिक प्रो. गौरव रैना ले आईआईटी मद्रास तथा प्रवर्तकद्वारा विकसित नवप्रवर्तन इकोसिस्टमबारे प्रस्तुति दिए। सोही दिन पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पनि छुट्टै अभिमूखीकरण सत्र भएको थियो – जसमा ७० विद्यार्थी सहभागी भएको दूतावासले जनाएको छ।

कार्यक्रमका लागि आवेदकहरूको छनोट मूल्यांकन तथा अन्तर्वार्ताका आधारमा हुनेछ। अनलाइन आवेदन २०२५ नोभेम्बर १५ सम्म खुला रहने दूतावासले जनाएको छ। इच्छुक उद्यमीहरूले अनलाइन फारममार्फत आवेदन दिन सक्नेछन्।