विहार कार्तिक २८ शुक्रबार ,बिहारी क्षेत्रमा भएको ताजा विधानसभा चुनावमा भोजपुरी सिनेमाका सुपरस्टार खेसारीलाल यादव पराजित भएका छन्।

 यादवलाई पराजित गर्दै भारतको सत्तारूढ दल भाजपाकी साधारण कार्यकर्ता छोटी कुमारी कानुले विजयी भएकी छन्। राजनीतिक विश्लेषकहरूले यसलाई ‘सिने–ग्ल्यामरभन्दा जनताको भरोसा बलियो’ भएको संकेतका रूपमा व्याख्या गरेका छन्।

चुनावअघि खेसारीलाल यादवलाई चर्चित उम्मेदवार मानिंदै आएको थियो। उनको चर्चा, भीड र फ्यान–फलोइङले उनी सहजै अग्रता लिने अनुमान गरिएको थियो। तर अन्तिम मतपरिणामले सबै अड्कल पल्टाउँदै स्थानीय क्षेत्रमा लामो समयदेखि सक्रिय रहिआएकी कानुले स्पष्ट बहुमतसहित विजयी भइन्।

स्थानीयवासीहरूले विकासका मुद्दा, पहुँच र निरन्तरको जनसम्पर्कलाई कानुको पक्षमा निर्णायक कारण रहेको बताइरहेका छन्। राजनीतिक संगठनमा उनको स्थायी भूमिका र मतदातासँगको नजिकोपनले चुनावी दौडमा ठोस प्रभाव पारेको विश्लेषण गरिएको छ।

उता, यादवको हारबारे विश्लेषकहरूको भनाइ छ कि स्टारडमले मात्रै चुनाव जितिदैन। स्थानीय मुद्दा, जनतासँगको जमीनस्तरको सम्बन्ध र दीर्घकालीन विश्वास नै निर्णायक हुने देखिएको छ।

यस घटनाले बिहारी राजनीति नयाँ मोडमा प्रवेश गरेको बताइँदैछ। जनताले ‘चमकभन्दा काम’ लाई प्राथमिकता दिएको यो नतिजा अहिले व्यापक चर्चामा छ।