काठमाडौ कार्तिक २९ शनिबार ,नेपालका लागि चिनियाँ राजदूत छन् सङले आगामी आमनिर्वाचन शांतिपूर्ण र सफलतापूर्वक सम्पन्न गराउन चीन सरकार नेपालप्रति पूर्ण सहयोगी रहने स्पष्ट संकेत दिएका छन्। 

प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग शुक्रबार साँझ भएको भेटमा उनले नेपाल–चीन सहकार्यका विभिन्न मोर्चामा भइरहेको प्रगतिबारे विस्तृत जानकारी दिए।

राजदूतका अनुसार द्विपक्षीय परियोजनाहरू योजनाबद्धरूपमा अघि बढिरहेका छन्। ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI)’ अन्तर्गतका कामहरू पनि अपेक्षित गतिमा अघि बढेको उल्लेख गर्दै उनले भने, “केही आयोजना ढिलो हुनु अस्वाभाविक होइन, तर सबै प्रशासनिक प्रक्रिया अन्तिम चरणमा छन्। स्थिर सरकार बनेपछि ती कामहरू झन् द्रुतगतिमा अघि बढ्छन्।”

अन्तरिम सरकारसँग निरन्तर समन्वयमा रहेको चीनले निर्वाचनलाई शीर्ष प्राथमिकतामा राखेर सहयोग गरिरहेको उनले दोहोर्‍याए। साथै, चीनले हाल सार्वजनिक गरेको नयाँ पञ्चवर्षीय योजना नेपालसहित क्षेत्रीय विकासको ठूलो ढोका बन्ने दाबी गर्दै उनले नेपालको आवश्यकताअनुसार परियोजना समावेश गरिएको बताए।

नेपालका कृषि उत्पादनलाई चिनियाँ बजारसम्म पुर्‍याउने योजना अन्तिम तयारीमा पुगेको खुलासा गर्दै राजदूतले यसले दुबै देशको अर्थतन्त्रलाई लाभ हुने बताए।

राजनीतिक स्थायित्व, विकास र समृद्धि नै चीनको नेपालप्रतिको चाहना भएको भन्दै उनले भरपर्दो रणनीतिक साझेदारको अभावले नेपालको विकास सुस्त भएको विश्लेषण सुनाए। चीनले त्यस शून्यता भर्न सहयोग गरिरहेको उल्लेख गर्दै पञ्चवर्षीय योजनामा नेपालका विकास परियोजनालाई प्राथमिकतासहित राखिएको जानकारी दिए।

ताइवान, हङकङ र मकाउ चीनका अभिन्न अङ्ग हुन् भन्ने एक–चीन नीतिमा नेपालका सबै सरकारको दृढ समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै उनले नेपाल–चीन मैत्री सधैं विश्वासयोग्य र सन्तुलित रहेको बताए।

अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर सहकार्य गर्दै आएकोमा पनि राजदूत छनले सन्तोष व्यक्त गरे।