मुम्बई मंसिर २० शनिबार ,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थपिएका कडा शुल्क र विश्व बजारमा फैलिएको व्यापार तनावले भारतको मौद्रिक नीतिमा प्रत्यक्ष प्रभाव पारेको छ। यही पृष्ठभूमिमा रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले शुक्रबार पुनः रेपो दर २५ आधार अङ्क घटाउँदै ५.२५ प्रतिशत मा झारेको घोषणा गर्यो।

मुद्रास्फीति कमजोर, निर्यात घट्दो र विदेशी बजार अनिश्चितताबीच आरबिआईले अर्थतन्त्रलाई सहजिकरण गर्ने रणनीति अघि सारेको हो। यसअघि नै तीन चरणमा सयभन्दा बढी आधार अङ्क काटिसकेको बैंकले यसपटक पनि सर्वसम्मत निर्णयमार्फत दर कटौती गरेको बताइयो।

आरबिआईका गभर्नर सञ्जय मल्होत्राका अनुसार बैंकले खुले बजार संचालनमार्फत ११ करोड १० लाख डलर बराबरका सरकारी कागजात खरिद गर्नेछ। साथै विदेशी मुद्रा तरलता सहज गर्न तीन वर्षे डलर–रुपैयाँ स्वाप मार्फत पाँच अर्ब डलर संचालन गर्ने तयारी छ। मौद्रिक नीतिमा ‘तटस्थ मौड’ राख्दै उनले आगामी चरणमा पनि कटौतीको विकल्प खुला रहने संकेत दिए।

भारत अहिले निर्यात सङ्कुचन, रूपैयाँको मूल्य अस्थिरता र आर्थिक वृद्धिमा सुस्तीका चुनौतीसँग जुधिरहेको छ। यस्तो अवस्थामा मोदी सरकार कर सहजीकरण र श्रम सुधारमार्फत बजार गतिविधि फेरी चलायमान बनाउन खोजिरहेको छ।

आरबिआईको ताजा कदमले उद्योग, बैंकिङ, निर्यातकर्ता र सर्वसाधारण उपभोक्तालाई अल्पकालीन राहत मिल्ने अपेक्षा गरिएको छ, जबकि दीर्घकालीन प्रभाव व्यापार–कूटनीतिक तनावको दिशामा निर्भर रहने विश्लेषकहरूको टिप्पणी छ।