पर्यटनबाट समृद्धिको सपना : ५० लाख पर्यटकका लागि पोखरा र गौतमबुद्ध विमानस्थलको तयारी
२०८३ मंसिर ९, मंगलवार १९:१८
काठमाडौं विराटपाटी मंसिर ८ मंगलबार , वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्समा निर्भर नेपालको अर्थतन्त्रलाई उत्पादन, रोजगारी र लगानीमा आधारित बनाउन पर्यटन क्षेत्रलाई प्रमुख आर्थिक आधारका रूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। यसका लागि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा क्षेत्रीय हवाई सम्पर्क विस्तारलाई प्राथमिकता दिनुपर्ने उनीहरूको धारणा छ।
इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा पर्यटन क्षेत्रका विज्ञ, हवाई सेवा सञ्चालक तथा नागरिक उड्डयन क्षेत्रका प्रतिनिधिहरूले पर्यटन विकासका सम्भावना र चुनौतीबारे छलफल गरेका हुन्।
पर्यटनविद् ज्ञानेश्वर महतोले नेपालको आर्थिक रूपान्तरणका लागि पर्यटनलाई रेमिट्यान्सको भरपर्दो विकल्पका रूपमा अघि बढाउनुपर्ने बताए। पर्यटनले प्रत्यक्ष आम्दानी मात्र नभई होटल, यातायात, कृषि, खाद्य उत्पादन र स्थानीय व्यवसायमार्फत व्यापक आर्थिक गतिविधि सिर्जना गर्ने उनको भनाइ थियो।
उनले आगामी वर्षहरूमा वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित रणनीतिक योजना बनाउनुपर्नेमा जोड दिए। पर्यटकको संख्या बढाउनुका साथै उनीहरूको बसाइ अवधि र खर्चसमेत वृद्धि गर्नुपर्ने उनले बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई भारतीय, चिनियाँ, दक्षिण एसियाली तथा मध्यपूर्वी पर्यटकसँग जोड्ने क्षेत्रीय हवाई केन्द्रका रूपमा विकास गर्न सकिने महतोको सुझाव छ। त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लामो दूरीका अन्तर्राष्ट्रिय उडान तथा धार्मिक पर्यटन प्रवर्द्धनमा उपयोग गर्न सकिने सम्भावना उनले औंल्याए।
बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पोखरा विमानस्थललाई व्यावसायिक रूपमा सफल बनाउन प्रतिस्पर्धी हवाई भाडा, नियमित यात्रु उपलब्धता, आफ्नै अन्तर्राष्ट्रिय वायुसेवा र पर्यटन व्यवसायसँगको सहकार्य आवश्यक रहेको बताए।
उनका अनुसार पोखराबाट दैनिक कम्तीमा ३० टेकअफ र ३० ल्यान्डिङ सञ्चालन गर्न सके विमानस्थलको व्यावसायिक आधार तयार हुन सक्छ। करिब १५ लाख यात्रुको आवागमन भएपछि सञ्चालनमा आवश्यक आर्थिक आधार प्राप्त हुने उनको भनाइ छ।
पर्यटन विकासलाई होटल र हवाई सेवामा मात्र सीमित नराखी कृषि तथा उत्पादनमूलक क्षेत्रसँग जोड्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। पर्यटकको मागअनुसार फलफूल, तरकारी, दुग्धजन्य पदार्थ, मासु तथा अन्य स्थानीय उत्पादनको आपूर्ति बढाउन सके ग्रामीण अर्थतन्त्रमा समेत प्रत्यक्ष लाभ पुग्नेछ।
पर्यटन व्यवसायी श्रेष्ठले नेपालको अन्तर्राष्ट्रिय छवि सुधार गर्न सकारात्मक प्रचारप्रसार र गन्तव्यको प्रतिष्ठा निर्माण आवश्यक रहेको बताए। विपद् र दुर्घटनाका समाचारले मात्र नेपाललाई चिनाउने प्रवृत्तिलाई बदल्दै सुरक्षित, आकर्षक र विविधतायुक्त गन्तव्यका रूपमा प्रस्तुत गर्नुपर्ने उनको धारणा थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले पोखरा विमानस्थल सञ्चालनका लागि आवश्यक प्राविधिक तयारी अघि बढिरहेको जानकारी दिए। साथै, पोखराको पर्यटनलाई आसपासका जिल्लासम्म विस्तार गर्दै ‘ग्रेटर पोखरा’ अवधारणामा अघि बढ्नुपर्ने उनले बताए।
५० लाख पर्यटकको लक्ष्य केवल पर्यटक संख्या बढाउने योजना होइन। यो स्वदेशमै रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई पर्यटन तथा उत्पादनमा आधारित बनाउने अवसर हो। पोखरा र गौतमबुद्ध विमानस्थलको प्रभावकारी उपयोगसँगै सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच समन्वय हुन सके नेपालको पर्यटनले आर्थिक समृद्धिको नयाँ ढोका खोल्न सक्छ।




