काठमाडौं मंसिर ५ शनिबार विराटपाटी , जर्ज मुन्सेको विस्फोटक शतकीय पारीको मद्दतमा सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै उपाधि उचाल्यो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेटको क्षति पूरा गर्‍यो। स्कटल्यान्डका जर्ज मुन्सेले ५४ बलमा १२५ रनको अविश्वसनीय पारी खेले। उनले ८ चौका र १२ छक्का प्रहार गरे। विनोद भण्डारीले ३० रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। दिलिप नाथले ३९, कप्तान रोहित पौडेलले ३० तथा निरोशन डिकवेलाले २८ रन जोडे।

मुन्सेको शतकीय आँधीसामु लुम्बिनीको चुनौती कमजोर बन्यो। सुदूरपश्चिमले शानदार जितसँगै एनपीएलको तेस्रो संस्करणको च्याम्पियन बन्ने गौरव हासिल गर्‍यो।