देउवा समूहको महाधिवेशन तयारीको कमान्ड शशांक कोइरालालाई
२०८३ मंसिर १०, बुधबार १९:४४
१५औँ महाधिवेशनका लागि १५ देखि २० समिति गठन हुने, व्यवस्थापनदेखि मञ्चसम्मको जिम्मेवारी संयोजक कोइरालालाई
९ बुधबार मंसिर, विराटपाटी , नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिने क्रममा समिति गठनको जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई सुम्पिएको छ।
चूनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबार बसेको शीर्ष नेता, पदाधिकारी तथा भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको बैठकले महाधिवेशन व्यवस्थापनका लागि आवश्यक समिति गठन गर्ने अधिकार कोइरालालाई दिएको हो।
कांग्रेस नेता जितजंग बस्नेतका अनुसार महाधिवेशन व्यवस्थित रूपमा सम्पन्न गर्न व्यवस्थापन, स्वयंसेवक, मञ्च व्यवस्थापनलगायत १५ देखि २० वटा समिति गठन गरिनेछ। संयोजक कोइरालाले बिहीबारसम्म समिति गठनको निर्णय गरेपछि सम्बन्धित समितिका संयोजकहरूले आफ्ना सदस्य चयन गरी काम अघि बढाउनेछन्।
बैठकमा देउवा समूहका नेताहरूले आफूहरू नै आधिकारिक कांग्रेस भएको दाबीसमेत गरेका छन्। नेता बस्नेतले आफूहरूलाई कारबाही गर्ने अधिकार कसैसँग नरहेको धारणा राखे।
त्यस्तै, कांग्रेस नेता कुन्दनराज काफ्लेले आफू रुख चिह्नबाट निर्वाचित प्रदेशसभा सदस्य रहिसकेको उल्लेख गर्दै आफूलाई कांग्रेस होइन भन्ने वा कारबाही गर्ने अधिकार कसैसँग नभएको जिकिर गरे।
काफ्लेले पार्टीभित्र देखिएको विवाद समाधानका लागि विशेष महाधिवेशन पक्षले नै छलफलको नेतृत्व गर्नुपर्ने धारणा राखे। पार्टी कार्यालय कब्जा गरेर विशेष महाधिवेशन गर्ने पक्षले विवाद समाधानमा अग्रसरता लिनुपर्ने उनको भनाइ थियो।
देउवा समूहले मंसिर २१, २२ र २३ गते नियमित महाधिवेशन भन्दै १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ। पार्टीभित्र दुई पक्षबाट महाधिवेशनको तयारी भइरहेका बेला समिति गठनको जिम्मेवारी कोइरालालाई दिनुलाई देउवा समूहको संगठनात्मक तयारी अघि बढाउने कदमका रूपमा हेरिएको छ।




