विपद् आउनुअघि नै तयारी : अब राहत होइन, जोखिम न्यूनीकरणमा लगानी
२०८३ मंसिर १०, बुधबार २०:११
जलवायु परिवर्तनले बढाएको प्राकृतिक जोखिम सामना गर्न पूर्वानुमान, पूर्वसूचना र सुरक्षित पूर्वाधार निर्माणमा जोड
विराटपाटी समाचार विश्लेषण ,मंसिर ९ बुधबार ,विराटपाटी ,
नेपालमा विपद् आएपछि उद्धार र राहतमा जुट्ने परम्परागत अभ्यासलाई अब परिवर्तन गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ। जलवायु परिवर्तनका कारण हिमताल विस्फोट, बाढी, पहिरो र अन्य प्राकृतिक जोखिम तीव्र बन्दै गएको अवस्थामा विपद् आउनुअघि नै जोखिम पहिचान र व्यवस्थापन गर्नु प्रभावकारी उपाय हो।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले पनि विपद् व्यवस्थापनलाई प्रतिक्रियात्मक नभई पूर्वतयारीमुखी बनाउनुपर्नेमा जोड दिएकी छन्।
नेपाल सरकार र यूएनडीपीको सहकार्यमा सञ्चालन हुन लागेको ‘जीएलओएफ सञ्जीवनी परियोजना’ यही सोचलाई व्यवहारमा उतार्ने महत्त्वपूर्ण पहलका रूपमा अघि आएको छ।
नेपालको भौगोलिक बनावट र जलवायु परिवर्तनको प्रभावले देशलाई प्राकृतिक विपद्को उच्च जोखिममा राखेको छ। हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने र हिमताल विस्तार हुने क्रमले हिमताल विस्फोटजन्य बाढीको जोखिम थपिएको छ।
केही महिनाअघि रसुवा–भोटेकोशी र गण्डकी जलाधार क्षेत्रमा देखिएका विनाशकारी बाढीले प्राकृतिक जोखिमले कति छिटो मानवीय र आर्थिक क्षति निम्त्याउन सक्छ भन्ने स्पष्ट पारेका छन्।
यस्ता घटनाले विपद् व्यवस्थापनमा केवल उद्धार टोली, राहत सामग्री र अस्थायी पुनर्निर्माणमा निर्भर रहने सोच पर्याप्त नहुने देखाउँछन्। जोखिमको पूर्वानुमान, समयमै सूचना प्रवाह र सुरक्षित संरचना निर्माणलाई प्राथमिकता दिनु आजको आवश्यकता हो।
करिब ४९.९४ मिलियन अमेरिकी डलर लागतको ‘जीएलओएफ सञ्जीवनी परियोजना’ सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने जनाइएको छ।
परियोजनामा हरित जलवायु कोषको अनुदान, नेपाल सरकार, यूएनडीपी र निजी क्षेत्रको सहवित्तीयकरण रहनेछ। यसबाट तीन लाख ८५ हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने र करिब २० लाख नागरिकले अप्रत्यक्ष सुरक्षा लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ।
परियोजनाअन्तर्गत जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने, जलविज्ञान तथा मौसम अनुगमन प्रणाली सुधार गर्ने, पूर्वसूचना प्रणाली सुदृढ गर्ने र नदी तथा जलाधार क्षेत्रमा प्रकृतिमा आधारित समाधान अपनाउने योजना छ।
यी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके हिमाली क्षेत्रका समुदाय मात्र होइन, नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षा पनि मजबुत हुन सक्छ।
विपद् व्यवस्थापनको प्रभावकारिता स्थानीय तहको तयारीसँग प्रत्यक्ष जोडिएको हुन्छ। जोखिमयुक्त बस्तीको पहिचान, सुरक्षित स्थानको व्यवस्था, स्थानीय पूर्वसूचना प्रणाली, नियमित अभ्यास र समुदायमा जनचेतना अभिवृद्धि गर्न स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ।
विशेषगरी नदी किनार, पहिरोको जोखिम भएका बस्ती र हिमाली जलाधारसँग जोडिएका क्षेत्रमा विकास निर्माण गर्दा जोखिम मूल्याङ्कनलाई अनिवार्य बनाइनुपर्छ।
सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था र अन्य सार्वजनिक पूर्वाधार निर्माण गर्दा जलवायु जोखिमलाई बेवास्ता गरिएमा विकासमा गरिएको लगानी नै भविष्यमा विपद्को कारण बन्न सक्छ।
विपद् रोक्न सधैँ सम्भव नहुन सक्छ, तर त्यसबाट हुने क्षति घटाउन सकिन्छ। त्यसका लागि विपद् आएपछि उद्धार गर्ने क्षमतासँगै विपद् आउनुअघि नै जोखिम पहिचान गर्ने र नागरिकलाई सुरक्षित राख्ने प्रणाली विकास गर्न आवश्यक छ।
‘जीएलओएफ सञ्जीवनी परियोजना’ सफल हुनु भनेको एउटा परियोजना सम्पन्न हुनु मात्र होइन, नेपालमा विपद् व्यवस्थापनको सोच र कार्यशैलीमा परिवर्तन आउनु पनि हो।
अब विकासको मूल्याङ्कन सडक, पुल र भवनको सङ्ख्याबाट मात्र होइन, ती संरचना र त्यहाँ बस्ने नागरिक भविष्यका विपद्बाट कति सुरक्षित छन् भन्ने आधारमा पनि गरिनुपर्छ।




