म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन विजयी
२०८२ फाल्गुन २३, शनिबार १०:१०
बेनी, २३ फागुन । म्याग्दी प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन विजयी भएका छन्। उनले २२ हजार ८५० मत प्राप्त गर्दै जीत हात पारेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन्। मतगणना सम्पन्न भइसकेको भए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गर्न बाँकी रहेको जनाएको छ।
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका पुन आफ्नै जन्मथलोबाट चुनावी मैदानमा उत्रिएका थिए। उनले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत पहल गर्ने तथा विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्ने मुद्दा अघि सार्दै निर्वाचन लडेका थिए।
यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन्।
म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।




