एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर १९ रनले स्तब्ध
२०८३ कार्तिक ११, मंगलवार २०:५६
आरिफुल इस्लामको ४३ रन र युनिस ठकुरीको उत्कृष्ट बलिङमा कर्णालीको प्रभावशाली जित
विराटपाटी समाचार
काठमाडौं, कात्तिक १० मंगलबार । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो।
कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटियो। जनकपुरका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए भने कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा टोलीले हार बेहोर्नुपर्यो।
कर्णालीको जितमा बलर युनिस ठकुरी र हुसेन तलतले समान तीन विकेट लिए। युनिसले चार ओभरमा एक मेडन राख्दै तीन विकेट लिएपछि जनकपुरको ब्याटिङ दबाबमा परेको थियो। नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। ओपनर आरिफुल इस्लामले २९ बलमा चार चौकासहित सर्वाधिक ४३ रन बनाए। पवन सर्राफले ३७ रनको योगदान दिए। यी दुईबीच चौथो विकेटका लागि ४२ रनको साझेदारी भएको थियो।
जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिए भने मोइन अली र राहुल यादवले समान दुई विकेट हात पारे। ललित राजवंशीले एक विकेट लिए।
यस जितसँगै कर्णाली याक्सले प्रतियोगितामा सुखद सुरुवात गरेको छ।




