धरान, हिजो धरान ३ स्थित चन्द्रपुर डबलीमा आज निःशुल्क स्वास्थ्य जाँच तथा थाइराइड परीक्षण कार्यक्रम सम्पन्न भएको छ। धरान जेसिजको आयोजनामा सम्पन्न उक्त कार्यक्रम समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

कार्यक्रम संयोजक शारदा श्रेष्ठ रहनुभएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता सहभागी हुनुभएको थियो। साथै धरान जेसिजका पूर्व अध्यक्ष प्रतिक श्रेष्ठ, आयुष्मा शाक्यलगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत करिब १५० जना स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य जाँच तथा थाइराइड परीक्षण सेवा लिएको आयोजकले जनाएको छ। समुदायमै स्वास्थ्य सेवा उपलब्ध गराइएकोमा स्थानीयवासीले कार्यक्रमलाई सकारात्मक रूपमा लिएका छन्।

कार्यक्रम सफल बनाउन धरान सिटी अस्पतालले महत्वपूर्ण सहयोग गरेको अध्यक्ष सागर प्रसाईंले वताए ।