बुढीगंगा  , मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स उद्योगको क्वाटरमा बस्दै आएका उद्योगका सिनियर म्यानेजर राजीव शर्मा मृत अवस्थामा फेला परेका छन्। भारतको गाजियावाद घर भएका करिब ५५ वर्षीय शर्मा आइतबार बिहान करिब ११ः१५ बजेतिर ओछ्यानमै मृत भेटिएका हुन्।

प्रहरीका अनुसार अघिल्लो साँझ खाना खाएर सुतेका शर्मा आइतबार बिहान अबेरसम्म नउठेपछि साथीहरूले कोठामा गएर हेर्दा उनी ओछ्यानमा घोप्टो परेको अवस्थामा अचेत देखिएका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा शर्मा सुतेकै अवस्थामा मृत फेला परेको जनाइएको छ।

प्रहरीका अनुसार प्रारम्भिक रूपमा घटना शंकास्पद देखिएको छैन। यद्यपि मृत्युको वास्तविक कारण खुल्न नसकेकाले शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले घटनाबारे थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण स्पष्ट हुने बताए।

शर्मा विगत करिब १५–१६ वर्षदेखि आरती स्ट्रिप्स उद्योगमा सिनियर म्यानेजरका रूपमा कार्यरत थिए। उक्त उद्योगले पाइप, कर्कटपाता लगायत स्टिल तथा फलामजन्य सामग्री उत्पादन गर्दै आएको छ।